एसीसी प्रिमियर कप जित्ने लक्ष्यसहित नेपाली टोली मलेसिया प्रस्थान गर्दै
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले मलेसियामा आयोजना हुने एसीसी पुरुष प्रिमियर कपका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको बिदाइ गरेको छ ।
कप्तान सन्दीप लामिछानेको नेतृत्वमा रहेको नेपाली टोली शुक्रबार भारत प्रस्थान गर्नेछ । टोलीले भारतमा १० दिन तयारी गरेपछि त्यहीँबाट मलेसिया प्रस्थान गर्नेछ ।
बिदाइ कार्यक्रममा कप्तान लामिछानेले एसीसी प्रिमियर कपको उपाधि जित्ने लक्ष्यसहित नेपाली टोली मलेसिया जाने बताए । पछिल्ला खेलमा भएका कमजोरी पहिचान गरी सुधार गर्न भारतमा हुने १० दिने तयारी महत्वपूर्ण हुने उनको भनाइ छ ।
‘हामी मोटिभेसनका साथ मलेसिया जानेछौँ । नेदरल्यान्ड्सबाट फर्किएपछि कहाँ चुक्यौँ र कहाँ गल्ती भयो भन्ने पहिचान गरेर त्यसमा काम गर्न बैङ्गलोरमा क्याम्प आयोजना गरिएको छ,’ लामिछानेले भने ।
भारतमा हुने प्रशिक्षणबाट मलेसियासँग मिल्दोजुल्दो कन्डिसनमा अभ्यास गर्ने अवसर प्राप्त हुने उनले बताए । टोलीले आफ्ना कमजोरी सुधार गर्दै एसीसी प्रिमियर कपको ट्रफी नेपाल ल्याउने भरपूर प्रयास गर्ने उनको भनाइ छ ।
यस्तै, क्यानका सचिव तथा पूर्वराष्ट्रिय क्रिकेटर पारस खड्काले राष्ट्रिय टोलीको नयाँ स्क्वाड र कप्तानी परिवर्तनलाई लिएर प्रश्न उठे पनि क्रिकेट टिम गेम भएकाले सबै खेलाडीको भूमिका महत्वपूर्ण हुने बताए ।
खड्काले सन्दीप लामिछानेलाई नेपाली पुरुष एकदिवसीय टोलीको नेतृत्व गर्ने जिम्मेवारी दिइएको जानकारी दिँदै पछिल्लो समय नेपाली खेलाडीले राम्रो क्रिकेट खेल्दै आएको बताए ।
उनले एसीसी प्रिमियर कपको उपाधि जित्न सबै पक्ष एकजुट भएर अघि बढ्नुपर्ने बताए । पछिल्ला पाँच–छ वर्षमा नेपाली राष्ट्रिय टोलीले ऐतिहासिक उपलब्धि हासिल गरे पनि केही खेलमा अपेक्षाअनुसार प्रदर्शन गर्न नसकेको उनको भनाइ थियो ।
नेपाली क्रिकेटलाई थप बलियो बनाउन खेलाडीलाई प्रोत्साहन र सहयोग गर्न क्यान प्रतिबद्ध रहेको खड्काले बताए । राष्ट्रिय खेलकुद परिषद्, युवा तथा खेलकुद मन्त्रालय, नेपाल सरकार, प्रायोजक तथा अन्य सरोकारवालाको सहयोगबाट नेपाली क्रिकेट यहाँसम्म आइपुगेको उनले उल्लेख गरे ।
खड्काले एसीसी प्रिमियर कपमा नेपाली टोलीले उत्कृष्ट प्रदर्शन गर्दै उपाधि जितेर एसिया कपका लागि छनोट हुने विश्वास व्यक्त गरे ।
यसअघि क्यानले सन्दीप लामिछानेको कप्तानीमा १४ सदस्यीय नेपाली राष्ट्रिय क्रिकेट टोली घोषणा गरेको थियो । टोलीमा सन्दीप लामिछाने, आसिफ शेख, अर्जुन कुमाल, रोहित पौडेल, देव खनाल, दीपेन्द्रसिंह ऐरी, बसिर अहमद, ईशान पाण्डे, गुल्शन झा, शेर मल्ल, ललित राजवंशी, करण केसी, हेमन्त धामी र सन्दीप जोरा रहेका छन् ।
मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
धेरै पढिएका खबर
- १ राज्यबाट सिर्जित सुकुम्बासी : आर्थिक, कृषि तथा भूमिनीतिको यथार्थ
- २ नागको पूजाअर्चना गरी आज नागपञ्चमी मनाइँदै
- ३ चिनीको सहज आपूर्तिबारे आज समितिमा छलफल, उद्योगमन्त्री र सचिवलाई बोलाइयो
- ४ वाग्मतीका मुख्यमन्त्री बानियाँले दिए राजीनामा
- ५ ट्रम्पद्वारा इरानसँगको वार्ता रोक्न निर्देशन, सम्झौताका लागि तेहरान तयार हुनुपर्ने अडान
- ६ धर्नामा बसेकाको स्वास्थ्य र सुरक्षाको व्यवस्था गर्न मानव अधिकार आयोगको आग्रह
- ७ बाढीपहिरोले देशभरका मुख्य राजमार्ग प्रभावित, विभिन्न सडकखण्ड अवरुद्ध

तपाईको प्रतिक्रिया दिनुहोस