आज हनुमान जन्मजयन्ती, विशेष पूजाआजा र धार्मिक कार्यक्रम गरी मनाइँदै
काठमाडौँ । प्रत्येक वर्ष चैत्र शुक्ल पूर्णिमाका दिन मनाइने रामभक्त हनुमान जन्मजयन्ती आज विभिन्न कार्यक्रम आयोजना गरी देशभर मनाइँदै छ ।यस अवसरमा हनुमानढोकास्थित हनुमानको मूर्ति, पशुपतिस्थित हनुमान मन्दिर, गोकर्णेश्वर नगरपालिकामा रहेको पञ्चमुखी हनुमानलगायत देशभरका हनुमान मन्दिरमा पूजा आराधना गरिन्छ ।
हनुमानढोका दरबारको नासलचोक नजिकै रहेको पञ्चमुखी हनुमान मन्दिरमा भने पुजारीले मात्र पूजा आराधना गर्ने चलन छ ।संस्कृत व्याकरणअनुसार ‘हनु’ धातुमा ‘मतुप’ प्रत्यय लागेर हनुमान शब्द बनेको छ । हनुको अर्थ चिउँडो हो । यो हन् धातुबाट बनेको छ । ‘हन्’ धातुको अर्थ हिंसा अथवा गति भन्ने हुन्छ ।
अतः हनुमान शब्दको अर्थ वेगवान् गतियुक्त शक्ति भन्ने हुन्छ । हनुको अर्को अर्थ आज्ञापालक पनि भनिएको छ । त्यसैले पनि हनुमान भगवान् रामभक्त थिए भनिन्छ । भगवान् रामको जीवनमा भएका घटनाले हनुमानको व्यक्तित्वलाई सर्वप्रतिष्ठित ‘देव’ बनाइदियो ।भय मनुष्यको मूलभूत प्रवृत्ति हो । दुष्ट आत्माको प्रकोपबाट बचाउनेवाला शक्तिको नाम हनुमान हो । पहिले बाँदरको नाम स्मरण वा दर्शन अशुभ मानिन्थ्यो । हात्तीलाई शुभ मानिन्थ्यो ।
हनुमानलाई ‘मङ्गलमूरत’को रूपमा अथवा सङ्कट मोचकको रूपमा पूजन गर्न थालियो । त्यसकारण बच्चादेखि बूढासम्म सबैले भयबाट मुक्तिका लागि ‘हनुमान चालिसा’ को पाठ गर्ने परम्परा शुरु भयो ।हनुमानलाई वायुका छोरा मानिन्छ । हनुमानले जुनसुकै रूप धारण गर्न सक्ने विश्वास गरिन्छ । शतरुद्र संहितामा एकादश रुद्रमध्ये एघारौँ रूप हनुमानको मानिएको छ । रुद्रहरू हनुमान सम्प्रदायको विकास हुनुपूर्व नै अस्तित्वमा आइसकेका थिए ।
यसरी रामायणभन्दा पूर्व हनुमानको अस्तित्व रहेको शास्त्रीय मत छ । रामायण नै हनुमानको बारेमा जानकारी दिने सबभन्दा आधिकारिक स्रोत हो । वैदिक शास्त्रीय ग्रन्थमा पनि विष्णु अवतारका रूपमा जन्म लिनुभएका रामचन्द्रलाई सहयोग गर्न शिव अवतारका रूपमा हनुमानले पनि जन्म लिएको वर्णन गरिएको छ ।स्कन्द पुराणको अवन्तिखण्डमा हनुमानभन्दा जगत्मा ठूलो प्राणी कोही छैन भन्ने व्याख्या गरिएको छ । परब्रह्म, उत्साह, मति, प्रताप, सुशीलता, माधुर्य, नीति, गाम्भीर्य, चातुर्य, सुवीर्य, धैर्य आदि क्षेत्रमा हनुमानभन्दा अर्को ठूलो कोही पनि छैन भनी वर्णन गरिएको छ ।
यस अवसरमा आज स्त्री–पुरुष, बाल–वृद्ध सबैले पवित्र नदीमा स्नान गरी व्रत एवं पूजा आराधना गर्दछन् । हनुमानलाई बजरङ्गबलि पनि भनिन्छ किनकि हनुमानको शरीर एक बज्रको समान थियो ।
हनुमान पवनपुत्रको रूपमा चिनिनु हुन्छ किनभने पवन देव (हावाको देवता)ले हनुमानको पालनपोषणमा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।पाँचमुखी, अत्यन्त तेजस्वी पराक्रमी, पञ्चतत्व र पञ्चरुद्र स्वरूपी, अति भयानक रौद्ररूपी हनुमानको ध्यान गर्नाले सबै काम पूर्ण हुन्छन् भनी शास्त्रीय ग्रन्थमा उल्लेख गरिएको पण्डित बालमुकुन्द देवकोटा बताउँछन् ।
हनुमानको पूजा आराधना गरेमा रोग व्याधि, बाधा, राजाको भय, प्राकृतिक शक्तिको बाधा, पिचासी शक्ति, भूत, नकारात्मक तत्व, बतास, खोला, आगो, राक्षसी शक्तिको प्रकोप र बेतालबाट पनि मुक्ति पाइन्छ भन्ने मान्यता छ ।
हनुमानले भक्तियोग र कर्मयोगद्वारा रामको निकटता प्राप्त गर्नुभएको थियो । वैष्णव सम्प्रदायमा हनुमानलाई विभिन्न यौगिक शक्ति प्राप्तिको लागि पनि पूजा गर्ने चलन छ ।
मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
धेरै पढिएका खबर
- १ स्पेन सेमिफाइनलमा, बेल्जियमलाई २–१ ले पराजित
- २ मन्त्रिपरिषद्का निर्णय : बीउबिजन नियमावली संशोधनदेखि पदक विजेता खेलाडीलाई नगद पुरस्कारसम्म
- ३ सुन तोलामा २८ सय र चाँदीमा १ सय रुपैयाँ गिरावट
- ४ विदेशमा रहेका नेपाली विज्ञलाई नवप्रवर्तन अभियानमा जोड्न मन्त्री महावीर पुनको आह्वान
- ५ ३ प्रतिशत शिक्षा सेवा शुल्क खारेज गर्न निजी विद्यालयका चार संगठनको माग
- ६ एसीसी यू–१९ महिला प्रिमियर कप: नेपाल आज सिङ्गापुरसँग प्रतिस्पर्धा गर्दै
- ७ इङ्ल्यान्ड सेमिफाइनलमा प्रवेश, नर्वेमाथि २–१ को रोमाञ्चक जित

तपाईको प्रतिक्रिया दिनुहोस