जलवायु परिवर्तनको असर न्युनिकरणमा नेपालले एसियालगायत विश्वलाई सन्देश दिनुपर्छ – सभापति देउवा
ललितपुर/२७ पुस, नेपाली काँग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले जलवायु परिवर्तनका असर न्युनिकरणका नेपालले एसियालगायत विश्वलाई सन्देश दिनुपर्छ भन्नेमा जाेड दिनुभएको छ।
वातावरण तथा जलवायु परिवर्तन सराेकार विभागद्वारा पार्टी कार्यालय सानेपामा शुक्रबार आयाेजित वन, वातावरण तथा जलवायु परिवर्तन सराेकार सम्बन्धी कार्यपत्र प्रस्तुतिकरण कार्यक्रममा मन्तव्य राख्नुहुँदै सभापति देउवाले जलवायु परिवर्तनले विश्वमा नै समस्या पारेको असर न्युनिकरणका लागि डिजेल, पेट्रोलको प्रयोग घटाउनुपर्ने र विद्युतीय सवारीसाधनकाे प्रयाेगलाई बढाउनुपर्ने बताउनुभएको हाे।
“जलवायु परिवर्तनको असरले नेपाल पीडित छ, यसकाे असर न्युनिकरणका लागि नेपालले चाहेर मात्रै त हुँदैन, तर नेपालले विश्वलाई सन्देश दिनेगरी गर्नसक्ने धेरै छ, हामीले जनचेतना वढाएर एसिया लगायत विश्वलाई सन्देश दिन सक्नुपर्छ,जलवायुकाे असरका बारेमा संसारभरी नै अभियान चलेको छ, हामीले देशभरि नै ध्यान दिएर अभियान चलाउनुपर्ने छ ।” सभापति देउवाले भन्नुभयो ।
उहाँले काठमाडौं उपत्यकामा मात्रै विद्युतीय सवारी साधनको प्रयोग बढाउनसके पनि जलवायु परिवर्तनका असर न्युनिकरणमा ठूलो उपलब्धि हुने धारणा राख्नुभयो ।
“जलवायु परिवर्तनले समग्र राष्ट्रमा नै ठूलो असर गरिरहेको छ, नेपालका हिमालमा हिउँहरु पग्लिरहेको छ, हिमाल नाङ्गो भएको छ, हाम्रो देशमा जलवायु परिवर्तनले निकै ठूलो समस्याका रुपमा आएको छ, तसर्थ हामीले सबैभन्दा बढी ध्यान जलवायु परिवर्तनमा दिनुपर्ने छ।” उहाँले भन्नुभयो ।
उहाँले डिजेल, पेट्रोलको प्रयोग घटाउँदै विद्युतीय सवारीसाधनकाे उपयाेगलाई प्राेत्साहन गर्दै ठाउँठाउँमा चार्जिङ स्टेशन राख्नुपर्ने बताउनुभयो ।
“अहिले यो जलवायु परिवर्तनले समग्र राष्ट्रमा नै र समग्र विश्वमा नै समस्या पारेको छ, यसले समुन्द्री सतह बढेको छ, हिउँ पग्लिएर हिमाल नाङ्गो भइरहेको छ, जसले गर्दा आज नेपालमा जलवायु परिवर्तनले निकै ठूलो समस्या भइरहेको छ, त्यसैले नेपालले सबैभन्दा बढी ध्यान दिनुपर्ने विषय जलवायु परिवर्तनको सन्दर्भ हो।” देउवाले भन्नुभयो ।
उहाँले संसारभर नै जलवायु परिवर्तनको बारेमा जनचेतना बढाउन आवश्यक छ भन्दै देशमा ६० प्रतिशत जंगल हामीले बचाउन सक्याै भने त्यसले पनि धेरै ठूलो मद्दत गर्दछ भन्नुभयो ।
पार्टीका सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’ले नेपालले अन्तर्राष्ट्रियस्तरमा समेत जलवायु परिवर्तनको मुद्दाको नेतृत्व गर्नुपर्नेमा जाेड दिनुभयो ।
“नीतिगत क्षेत्रमा उठाउनुपर्ने कुराहरुकाे विषयमा यहाँ भएको प्रस्तुतिकरण महत्त्वपूर्ण छ, याे मुद्दामा नेपाली कांग्रेसले चासाे दिएर अगुवाई गर्नुपर्ने छ, जनसंख्याको आधारमा कार्वन उत्सर्जनमा विकसित देशहरूले पारेको प्रभावका बिषयमा पनि आवाज उठाउनु पर्छ। ” उहाँले भन्नुभयो ।
उहाँले डेनमार्कमा भएको काेप १५ मा भाग लिएर आफूले हिमाल पग्लिंदा पर्ने असरकाे बारेमा आवाज उठाएकाे बताउनुभयो । जलवायु परिवर्तनको मुद्दामा जनतालाई सुसूचित गर्नु आवश्यक रहेको बताउँदै उहाँले नेपालमा भएको स्राेत साधन र कृषि उत्पादनलाई निर्यात गरेर नेपाललाई आत्मनिर्भर बनाउनुपर्नेमा जाेड दिनुभयो । सहमहामन्त्री उपाध्यायले जलवायु परिवर्तन एउटा समुदाय र देशसंग मात्रै नजाेडिएकाेले यसलाई ध्यान दिएर विश्वव्यापी अवधारणामा आधारित गरेर कानुन बनाउनुपर्छ भन्नुभयो । जलवायु परिवर्तनबाट भएको असरले पुर्याउने क्षतिवाट वच्न, कार्वन उत्सर्जनलाई घटाउन लाग्नुपर्ने उहाँकाे जाेड थियोे ।
बन तथा वातावरण मन्त्री ऐन बहादुर शाहीले जलवायु परिवर्तनको समस्या सृजना गर्नमा हाम्रो योगदान नगन्य भए पनि जलवायु संकट समधान गर्नमा, नेपालले महत्त्वपूर्ण भूमिका खेल्दै आएको बताउनुभयो ।
उहाँले नेपाल प्राकृतिक सौन्दर्य र जैविक विविधतामा धनी भए पनि, जलवायु परिवर्तनको जोखिममा पर्ने विश्वका सबैभन्दा संवेदनशील राष्ट्रहरू मध्ये पर्दछ भन्नुभयो ।
“हिमनदीहरू द्रुत गतिमा पग्लदै जानु, मौसमी प्रणालीमा आएको फेरबदल र यसको प्रभावले कतै ठूलो विसम बर्षा त कतै सुख्खा खडेरी बढ्दै जादा हाम्रो कृषि , जल स्रोत, पर्यटन जस्ता क्षेत्रमा असर परेकाले लाखौं मानिसको जीविकोपार्जनलाई गम्भीर असर पुर्याउनुका साथै समग्र अर्थतन्त्रमा नै असर गरिरहेको अवस्था छ।” मन्त्री ठकुरीले भन्नुभयो ।
उहाँले नेपाल सरकारबाट राष्ट्रिय जलवायु परिवर्तन नीति २०७६ लागू भई, जलवायु परिवर्तनको असर कम गर्न अनुकूलन र कार्वन उत्सर्जन घटाउन न्यूनिकरणका साथै क्षति र नोक्सानीलाई सम्बोधन गर्ने उपायहरूलाई प्राथमिकता दिएका छौ भन्ने बताउनुभयो ।
“जलवायु संकट आज समग्र विश्वकालागि गम्भिर समस्याका रुपमा खडा भएको अवस्थामा यससंग जुध्न कुनै एक देश वा समुदायलाई मात्र सम्मभव नरहेको हाम्रा सामु प्रस्ट छ, जलवायु परिवर्तनको समस्याहरुसंग जुध्न जलवायुमैत्री प्रविधि हस्तान्तरण, क्षमता विकास र वित्तीय सहयोगकालागि विश्वव्यापी सहकार्य साथै आर्थिक हिसाबमा सम्पन्न र उच्च कार्बन उत्सर्जन गर्ने मुलुकहरूले थप जिम्मेवार हुँदै, नेपालजस्ता संवेदनशील राष्ट्रहरूलाई जलवायु अनुकूलन, न्यूनीकरणमा साथै जलवायुजन्य क्षति र नोक्सानी सम्बोधन गर्न सहयोग पुर्याउन आवाश्यक छ।” उहाँले भन्नुभयो ।
उहाँले विकसित राष्ट्रहरूले जलवायु वित्तीय प्रतिबद्धता पालना गर्न आवश्यक छ भन्दै यसाेहुँदा नेपाल लगायतका विकासोन्मुख राष्ट्रहरूले दिगो विकासका मार्गहरू अवलम्बन गर्न सक्छन् भन्नुभयो ।
उहाँले नेपालले अन्तर्राष्ट्रियस्तरमा पनि जलवायु संकटको सामना गर्नका लागि निरन्तर पहल कदमी लिइरहेको छ भन्नुभयो ।
“हामीले पेरिस सम्झौता अन्तर्गत तापमान वृद्धिलाई १.५ डिग्री मा सीमित गर्नका लागि प्रतिबद्धता जनाएका छाैं, सोही अनुसार धेरै कार्वन उत्सर्जन गर्ने मुलुकहरुलाई कार्वन उत्सर्जन घटाउन निरन्तर सचेत गराईरहेका छौं।” उहाँले भन्नुभयो ।
राष्ट्रपति चुरे-तराई मधेश संरक्षण विकास समितिका पूर्वसदस्य डाक्टर नागेन्द्र प्रसाद यादवले वन संरक्षणमा सबै नीति, नियमले सहजीकरण गरेकाे भएपनि संरक्षणका क्षेत्रमा आशातीत रुपमा काम हुन सकेको छैन भन्नुभयो । उहाँले १५ओैं र १६ओैं पञ्चवर्षीय याेजनामा समेत बैज्ञानिक वन व्यवस्थापनका बिषय समेटिएकाे छ, सबै नियम, कानुन, निर्देशिका र घाेषणा पत्रमा समेटिएको छ भन्ने जानकारी गराउनुभयाे ।
नेपाली कांग्रेस केन्द्रीय सदस्य एवम् वातावरण तथा जलवायु परिवर्तन सराेकार विभागका प्रमुख कल्याण गुरुङले जलवायु परिवर्तनको बिषयमा पार्टी भित्र नीति तय गर्दै देशकाे कानुन निर्माणका लागि निरन्तर क्रियाशीलता रहनेछाैं भन्ने बताउनुभयो । कार्यक्रममा जलवायु परिवर्तनको बिषयमा अध्ययन अनुसन्धान गरिरहेका बिषयबिज्ञहरुले प्रस्तुतिकरण गर्नुभएको थियाे ।
मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
धेरै पढिएका खबर
- १ नेप्से २७.८५ अंकले उकालो, कारोबार झन्डै ६ अर्ब रुपैयाँ
- २ नेपालले साफ महिला च्याम्पियनसिपमा आज भुटानसँग खेल्दै
- ३ आगामी जेठ १६ १७ मा चिकित्सक संघको सम्मेलन हुँदै
- ४ सीपबाट आत्मनिर्भरता तर्फ डोहोर्याउन दक्षिणकालीमा २० दिने क्रिस्टल तथा पोतेका सामाग्री बनाउने तालिम सम्पन
- ५ ‘गंगारानी’मा वर्षा शिवाकोटी अनुबन्धित
- ६ बेनी–जोमसोम सडकको म्याग्दी खण्ड अवरुद्ध
- ७ दुई समितिको बैठक बस्दै, नीति समीक्षा र वित्तीय अनुशासनमा केन्द्रित छलफल

तपाईको प्रतिक्रिया दिनुहोस