ललितपुर महानगर वडा नं.३ कार्यालयद्वारा बिषादी परिक्षण केन्द्र सञ्चालनमा
ललितपुर, १४ मंसिर: ललितपुर महानगरपालिकाको वडा नं.३ कार्यालयले बिषादी परिक्षण केन्द्र सञ्चालनमा ल्याएको छ।
आफ्नो वडा कार्यालयभित्र बिक्री हुने तरकारी तथा फलफूलमा प्रयोग भएको बिषादीको परिक्षण गर्नका लागि शनिबारबाट वडा कार्यालयले झम्सिखेलस्थित ठाडोढुंगामा रहेको ‘हाम्रो घर’ मा बिषादी परिक्षण केन्द्रको सुरुवात गरेको हो।।
परिक्षण केन्द्रको उद्घाटन गर्नुहुँदै ललितपुर महानगरप्रमुख चिरीबाबु महर्जनले बिषादीयुक्त तरकारी तथा फलफूलको प्रयोगका कारण नगरवासीहरु रोगी हुँदा समस्या सृजना हुने भन्दै यसकालागि यो बिषादी परिक्षण केन्द्र उपयोगी हुने विश्वास व्यक्त गर्नुभयो।
“नगरवासीहरु रोगी हुँदा यहाँको उत्पादकत्व र जीवनशैलीमा प्रभाव पर्छ, यहाँका नागरिकहरु रोगी भएभने यो महानगर स्मार्ट सिटी हुनसक्दैन, महानगरवासी निरोगी हुँदा मात्रै समृद्ध र सुखी महानगर कायम रहनसक्छ।” उहाँले भन्नुभयो।
उहाँले देशका ६ हजार ७ सय ४३ वडाहरुमध्येमा ललितपुर महानगरको वडा नं. ३ ले उत्कृष्ट काम गरेको भन्ने कुरा निर्विवाद छ भन्दै यो वडा महानगरको २९ वडा मध्ये सबैभन्दा बढि राजश्व संकलन गर्ने वडा पनि भएको बताउनुभयो।
” म नगरप्रमुख भएको ८ बर्षभन्दा बढि भइसकेको छ, हामीले ८ वर्षभित्र सम्पदा क्षेत्र र पूर्वाधार क्षेत्रमा धेरै काम गरेका छौँ, समयसापेक्ष आउने नयाँ परियोजनालाई पनि ध्यान दिएर सञ्चालन गर्नेछौं, महानगरलाई स्मार्ट सिटी बनाउन धेरै काम गरिरहेका छौँ, ललितपुर महानगरले देशका २ सय ९३ वटा नगरपालिका मध्ये उत्कृष्ट काम गरेको छ।” उहाँले भन्नुभयो।
उहाँले हरियाली कायम गर्ने काममा ध्यान दिएर काम गरेका छौं भन्दै महानगरको सडकका दायाँबायाँ रुख रोपेर हरियाली कायम गरेर यहाँको वातावरणलाई सफा र स्वच्छ बनाउने प्रयत्न गरेको बताउनुभयो। उहाँले जाडो याममा प्रविधिको प्रयोग गरेर सडक वरपरका सडकलाई पानी दिने र पखाल्ने काम गरेका छौँ भन्ने जानकारी गराउँदै भूकम्पले क्षति पुर्याएका सबै मठमन्दिर, देवालय, शिवालयको मर्मत सम्भार गरेका छौँ भन्ने बताउनुभयो।
राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले वडाका हरेक क्रियाकलापमा आफू निकट रहेको जानकारी गराउँदै शिक्षा र स्वास्थ्यको क्षेत्रमा राम्रो काम गरेर वडावासीलाई उत्साह भर्ने काम वडाले गरिरहेको धारणा राख्नुभयो। उहाँले काठमाडौंको प्रदुषित वातावरणको असरले विभिन्न किसिममा रोगहरुले मानिसलाई सताइरहेको अवस्थामा वडा कार्यालयले सराहनीय काम गरेको बताउनुभयो। अध्यक्ष शर्माले वालवालिकालाई नैतिक शिक्षाको ज्ञान दिलाउँदै उनीहरूले प्राप्त गरेको सीपलाई व्यवहारमा उतार्न सिकाउँदै संस्कृति र सम्पदालाई जगेर्ना गर्न सिकाउनु पर्ने आवश्यकता रहेकोमा जोड दिनुभयो।
ललितपुर महानगरपालिका वडा नं. ३ का अध्यक्ष श्रीगोपाल महर्जनले वडावासीले प्रयोग गर्ने हरेक खाद्य सामाग्रीमा भएको विषादीले मानिसलाई रोगी बनाएको भन्दै तरकारी र खाद्य पदार्थमा बिषादी भएनभएको परीक्षण गरेर मात्रै उपयोग गर्नका लागि बिषादी परीक्षण केन्द्र सञ्चालनमा ल्याइएको बताउनुभयो।
उहाँले वडाभित्र व्यापार गर्ने तरकारीमा बिषादीको परीक्षण गरेर अत्याधिक बिषादी भएको पाइएमा कानून अनुसार कारवाही गर्ने बताउनुभयो।
बिषादी प्रयोगका कारण मानिसहरु प्राणघातक तथा दीर्घ रोगबाट पीडित हुनुपरेको र मानव जीवनको दैनिकीमा समेत नकारात्मक प्रभाव रोक्नका लागि यो परिक्षण केन्द्र प्रभावकारी हुने जनाइएको छ।
वडा नं. ३ ले सञ्चालन गरेको हाम्रो घरभित्र वडा व्यवसायिक तालिम केन्द्र, वडाका महिला समूहद्वारा निर्मित सामग्री विक्री केन्द्र, वडा स्वास्थ्य केन्द्र,योग कक्ष सञ्चालनमा रहेको छ।
परिक्षण केन्द्र उद्घाटनका अवसरमा आयोजित कार्यक्रममा वडाभित्र बसोबास गर्ने नगरवासीमध्ये गत वर्षको एसइई उतिर्ण गर्ने १७ जना र कक्षा १२ उतिर्ण गर्ने ८ जनालाई सम्मान तथा पुरस्कृत समेत गरिएको थियोे।—
मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
धेरै पढिएका खबर
- १ आईसीसी विश्वकप लिग–२ आजदेखि, पहिलो खेलमा नेपाल र नामिबियाको प्रतिस्पर्धा
- २ तयारी पोसाक उद्योग प्रवर्द्धनमा सरकारको जोड, ‘टेक्सटाइल एण्ड क्लोदिङ डेभलमेन्ट काउन्सिल’ गठन प्रक्रिया अघि बढाइने
- ३ सरकारको मिडिया नीतिको विरोध गर्दै पत्रकारहरु माइतीघरमा प्रदर्शन
- ४ राष्ट्रिय सभाका तीन समितिको आज बैठक, ऐन कार्यान्वयनदेखि राष्ट्रिय महिला आयोगको प्रतिवेदनसम्म छलफल
- ५ साउनको पहिलो सोमबार : देशभर भगवान् शिवको विशेष पूजा–आराधना
- ६ कीर्तिपुरमा चलिरहेको निजी कारमा आगलागी, चालक मृत फेला
- ७ विकासको केन्द्रमा मानव र प्रकृति हुनुपर्छ : राष्ट्रपति पौडेल

तपाईको प्रतिक्रिया दिनुहोस