Techie IT
  • The Film Nepal
  • २०८३ श्रावण १० आईतवार

    अपडेट
    गृहपृष्ठमुग्लान विशेषचाडवाडको बेला, मुग्लान जाने मेला

    चाडवाडको बेला, मुग्लान जाने मेला


    काठमाडौं/ २२ असाेज, नेपाली सुरक्षाकर्मीको सोधपुछपछि केही पाइला पर रहेको भारतीय सुरक्षाकर्मीको चेकपोस्टतर्फ अघि बढ्दै गर्दा अछाम साँफेबगरका रामसिंह सुनारले झोलाबाट नागरिकता झिके । चेकपोस्ट पार गर्न लाइनमा बसे । उनको पालो १२ जनापछि थियो । भारतको बैंग्लोर जान हिँडेका उनी भारतीय सुरक्षाकर्मीले कडाइका साथ जाँचबुझ र लेखापढी गरिसकेपछि अगाडि बढे । उनको अनुहार उज्यालो भने थिएन  ।
    मलिन अनुहारमै बैतडी पुर्चौडीका प्रेमबहादुर धानुक पनि लाइनमा थिए । सुनार र धानुक जस्तै लाइनमा बसेकाहरूको अनुहारमा दसैंको मुखमा मुग्लान पस्नुको पीडा प्रस्टै झल्किन्थ्यो । ‘घरमा बूढी आमा छिन्, दसैंको टीका पनि नलगाई भारत जानुपरेको छ,’ धानुकले भने, ‘एक महिनाको बिदा मागेर आएको थिएँ । नफर्किने हो भने रोजीरोटी छुट्ने डरले जान लागेको हुँ ।’

    रोजगारी खोज्न दिल्ली जाँदै गरेका कैलाली बौनियाका पदमबहादुर नेपाली भारततर्फको नाका गौरीफन्टा पुगेपछि पलिया जाने बस खोजे र सिटमा बसे । त्यसपछि श्रीमतीलाई फोन गर्दै भने, ‘मु गौरीफन्टा बसमा बसिगयाँ, मेरो केई चिन्ता नमान्या, बरु त्याँ बालबच्चा र आफ्नो हेरविचार गर्नु ।’ उनको घरमा तीन नाबालक छोराछोरी, श्रीमती र आमाबुबा छन् । यस्तै, बझाङको बुंगल देउलीकोटकी गंगादेवी बोहोरा श्रीमान्को छुट्टी नमिल्ने भएपछि बालबच्चा लिएर बैंग्लोर जाँदै थिइन् ।

    यस्तै बाध्यताका कारण सुदूरपश्चिमको प्रमुख सीमानाका कैलालीको त्रिनगर हुँदै भारतका विभिन्न सहरमा कामको खोजीमा जानेहरूको संख्या दसैंको मुखमा पनि कम भएको छैन । त्रिनगरमा अहिले एकसाथ दुई दृश्य देखिन्छन् । चाडबाडका बेला घरपरिवार छाडेर रोजीरोटीका लागि मुग्लान जानेहरूको अनुहार मलिन देखिन्छ भने दसैंतिहार मान्न फाट्टफुट्ट स्वदेश फर्किरहेकाहरू भने प्रसन्न ।

    दसैं नजिकिएसँगै सुदूरपश्चिमको प्रमुख सीमानाका गौरीफन्टामा यतिबेला घुइँचो छ । दसैंका लागि घर फर्किनेहरू पनि छन् । तर, सुरक्षाकर्मीका अनुसार नेपाल आउनेभन्दा उता जाने नै बढी छन् । सशस्त्र प्रहरी बल ७ नम्बर वैद्यनाथ वाहिनी अत्तरियाका अनुसार घटस्थापनाको दिन असोज १७ देखि २१ गते सोमबारसम्म ५ दिनमा त्रिनगर नाकाबाट ९ सय ७१ जना नेपाली भारत गएका छन् । सोही अवधिमा कञ्चनपुरको गड्डाचौकी नाकाबाट ९ सय ८५ जना भारत गएको तथ्यांक छ ।

    सुदूरपश्चिमका विभिन्न जिल्लाबाट धनगढी हुँदै गौरीफन्टा नाका भएरै भारतका विभिन्न सहरतर्फ रोजगारी खोज्न हिँडिरहेका छन् । दसैंमा छुट्टी नपाएर घर आउन नसकेकाहरू यतिबेला बालबच्चा र घरपरिवारलाई उतै बोलाइरहेका छन् । भारतका सहरतर्फ जाँदै गरेका बालबच्चाको संख्या पनि उल्लेख्य छ ।

    घरपरिवार पाल्नकै लागि भारत जानुपरेको बाजुराको बूढीगंगा नगरपालिकाका ललितबहादुर विकले बताए । विकजस्तै भारत जान लागेका अधिकांश सबैको एउटै स्वर थियो, ‘गाउँघरमै काम पाउने अवस्था छैन । पैसा नहुनेलाई विदेश (तेस्रो मुलुक) जाने अवसर छैन । त्यही भारत नजाने हो भने त घरपरिवारको गुजारा पनि चल्दैन ।’

    गरिबी सूचकांकमा पुछारमा रहेका सुदूरपश्चिम र कर्णालीका विभिन्न जिल्लाका सर्वसाधारणको रोजगारीको मुख्य थलो भारतका विभिन्न सहरहरू हुन् । कैलालीको त्रिनगर र कञ्चनपुरको गड्डाचौकी सीमानाका भारत ओहोरदोहोर गर्ने मुख्य नाका हुन् । त्रिनगर भएर सुदूरपश्चिमका नौ वटै जिल्ला र कर्णालीका सुर्खेत, मुगु, दैलेख, हुम्ला र कालिकोट तथा लुम्बिनीको दाङ क्षेत्रका सर्वसाधारण कामको खोजीमा भारतका विभिन्न सहर जाने गरेका छन् ।

    प्रायःजसो नेपाली हरियाणा, दिल्ली, बैंग्लोर, महाराष्ट्र, पुना, पञ्जाब, सिम्ला, जम्मु, लखनउ, असम, राजस्थान, गुजरात, तामिलनाडु, सुरतलगायत सहरतर्फ जाने गरेको भारतसम्म यातायात सेवा सञ्चालन गर्दै आएको धनगढीस्थित केदार यातायात सेवामा कार्यरत कवि थापा बताउँछन् । ‘सुदूरपश्चिमेली नभएको सायद भारतमा कुनै सहर नहोला । भारतका कुनाकुनाका सहरमा यहाँका स्थानीय काम गर्न जान्छन्,’ थापाले भने । दिल्ली, महाराष्ट्र, गुजरात, हरियाणा, पञ्जाब, हिमाचल प्रदेश तथा उत्तराखण्ड राज्यका प्रमुख सहरहरूमा विभिन्न पेसा व्यवसायमा सुदूरपश्चिमेलीहरू भेटिन्छन् ।

    दिल्लीस्थित नेपाली दूतावासका सांस्कृतिक काउन्सिलर गोकुल बस्नेतका अनुसार दूतावाससँग औपचारिक तथ्यांक नभए पनि विभिन्न सहरमा देखिने उपस्थितिमा सुदूरपश्चिमका नागरिकको संख्या अन्यको तुलनामा बढी छ । कतैकतै लुम्बिनी प्रदेशका अर्घाखाँची र गुल्मीका युवाको पनि बाहुल्य रहेको उनले बताए । भारतमा नेपालीले बढीजसो अनौपचारिक क्षेत्रमा काम गर्छन् । कृषि, होटल, निर्माण, चौकीदार, घरेलु कामदारलगायत क्षेत्रमा बहुसंख्यक सुदूरपश्चिमेली भेटिन्छन् । खुला सिमाना र घर आउँदा पैसा बोकेरै आउने वा साथीभाइका साथमा पठाउने अभ्यासका कारण भारतबाट अनौपचारिक तवरबाट ठूलो रकम नेपाल भित्रिने गर्छ । औपचारिक रूपमा भारतबाट कति रेमिट्यान्स भित्रिन्छ भन्ने यकिन तथ्यांक छैन । बैंकिङ कारोबारका आधारमा कुल रेमिट्यान्सको करिब १५ प्रतिशत बराबर भारतबाट आउने गरेको अनुमान छ ।

    प्रभु बैंकका भारत प्रमुख सुनील मिश्र भारतबाट नेपाल भित्रिने रेमिट्यान्समा सबैभन्दा बढी सुदूरपश्चिम र त्यसपछि मध्यपश्चिमको हिस्सा हुने गरेको बताउँछन् । उनले प्रभु मनी ट्रान्सफरको च्यानलबाट महाराष्ट्र, दिल्ली र त्यसपछि कर्नाटकबाट सबैभन्दा बढी नेपालमा रेमिट्यान्स जाने गरेको बताए । त्यस्तै गुजरात, हिमाचल र पञ्जाबको हिस्सेदारी पनि राम्रो रहेको उनी बताउँछन् ।

    संयुक्त नेपाली महासंघ मुम्बईका पूर्वअध्यक्ष तथा व्यवसायी भरत रावल मुम्बई र गुजरातमा सुदूरपश्चिमेलीको संख्या ठूलो रहेको बताउँछन् । ‘पुस्तौंदेखि आएका कैयौं परिवार राम्ररी जमेका छन् । आफ्नै पेसा व्यवसायमा प्रगति गर्दै रोजगारीको सिर्जना गर्ने ठाउँमा पनि सुदूरपश्चिमका व्यक्ति पुगेका छन्,’ उनले भने, ‘अर्कोथरी नियमित रूपमा भारत आउने, रोजगारी गर्ने र चाडबाडमा नेपाल जानेछन् ।’ भारतभर कुल नेपालीको संख्यामा ५० देखि ६० प्रतिशत बराबर सुदूरपश्चिमका नागरिक रहेको उनको अनुमान छ ।

    भारतमा रोजगारी गरेर यतै बसेकाहरू छोराछोरीको भविष्य राम्रो बनाउन प्रयत्नशील रहेको उनले बताए । ‘अहिले स्थिति फेरिँदै गएको छ । भारतमै बसोबास गरिरहेकाहरूले छोराछोरीको पढाइमा राम्रो ध्यान दिएका छन्,’ उनले भने, ‘अहिलेको पिढीमा सुदूरपश्चिमका युवा राम्रो पढाइ गरेर आईटी, मेडिकल, एकाउन्टिङलगायत क्षेत्रमा जागिर खाइरहेका भेटिन्छन् ।’ केही पुस्ता अगाडिदेखि भारत आएर रोजगारी गर्दै यतै बस्दै आएकाको परिवारमा आर्थिक, सामाजिक र शैक्षिक स्तरमा धेरै परिवर्तन भइसकेको उनी बताउँछन् । खुला सीमा, नजिकको गन्तव्य, अदक्ष कामदारले पनि जानेबित्तिकै कुनै न कुनै काम पाइहाल्ने, आफन्त वा चिनेजानेका मानिस पहिल्यैदेखि रहेकाले सुदूरपश्चिमका नागरिकको आकर्षण भारत रहँदै आएको छ । सुदूरपश्चिम विश्वविद्यालय मानविकी तथा सामाजिक विज्ञान केन्द्रीय विभागका उपप्राध्यापक दीपकचन्द्र भट्ट सुदूरपश्चिमबाट मुग्लान भनेर भारत जानेको लर्को धेरै पहिल्यैदेखि रहेको बताउँछन् ।

    आफ्नो अध्ययनमा पहाडी जिल्लाका ७० देखि ८० प्रतिशत घरधुरीबाट मानिसहरू भारत गएको भेटिएको उनी बताउँछन् । कैलाली र कञ्चनपुरबाट पनि भारत जानेको संख्या धेरै रहेको उनले बताए । उनका अनुसार तराईका जिल्लाबाट औसतमा ५० प्रतिशत घरधुरीबाट मानिसहरू भारत गएका छन् । सुदूरपश्चिमबाट रोजगारीका लागि विदेशिनेमध्ये ८० प्रतिशत भारत र २० प्रतिशत खाडी मुलुक जाने गरेको उनले बताए । उनका अनुसार खाडी मुलुक जानेमा खासगरी सहरी क्षेत्रका युवा छन् ।

    सजिलै जान सकिने र मन लागेका बेला घर आउन सकिने सुविधा तथा पुस्तौंदेखि मुग्लान भनेर भारत जाने चलनका कारण अझैसम्म सुदूरपश्चिमेलीको आकर्षणको केन्द्र भारत रहेको भट्टले बताए । रोजगारीको अवसर तथा कृषि उत्पादन पनि कम हुने भएकाले आर्थिक उपार्जनका लागि भारतमाथि निर्भरता कायम रहेको उनको भनाइ छ । ‘भारतले सुदूरपश्चिममा ठूलो आर्थिक टेवा दिँदै आएको छ,’ उनले भने, ‘कुनै तालिम, सीप नभएका मानिसले पनि भारत गएर केही न केही काम गरेर आफ्नो परिवार चलाएको भेटिएको छ ।’
    कान्तिपुर दैनिकबाट




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    हेटौँडामा रक्ताम्य अवस्थामा पुरुष मृत फेला, सँगै रहेकी महिला फरार

    हेटौँडा, मकवानपुर — मकवानपुरको हेटौँडा उपमहानगरपालिका–११ थानाभर्याङस्थित यातायात व्यवस्था कार्यालय अगाडि एक पुरुष रक्ताम्य अवस्थामा मृत फेला परेका छन्। प्रारम्भिक

    काठमाडौंको सुन्दरीजलबाट ३० किलो गाँजासहित दुई जना पक्राउ

    काठमाडौं । काठमाडौंको सुन्दरीजल क्षेत्रमा लागूऔषध ओसारपसार नियन्त्रण अभियानअन्तर्गत प्रहरीले करिब ३० किलो गाँजासहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ

    अविरल वर्षाले देशभरका प्रमुख राजमार्ग प्रभावित, धेरै सडक पूर्ण रूपमा…

    काठमाडौँ ।  लगातारको वर्षा, बाढी र पहिरोका कारण देशका विभिन्न राष्ट्रिय राजमार्गमा यातायात सेवा प्रभावित भएको छ। केही सडकखण्ड पूर्ण

    सरकारको मिडिया नीतिको विरोध गर्दै पत्रकारहरु माइतीघरमा प्रदर्शन

    काठमाडौं । नेपाल पत्रकार महासंघले ‘प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा गरौँ, नागरिक अधिकार सुनिश्चित गरौँ’ भन्ने नारासहित काठमाडौँको माइतीघर मण्डलामा

    सगरमाथा आरोही महर्जनको संयोजकत्वमा पाटन क्याम्पसमा मानवशास्त्र विद्यार्थी सञ्जाल गठन

    ललितपुर / ९ साउन, पाटन संयुक्त क्याम्पसको मानवशास्त्र विभागका पूर्वविद्यार्थी एवम् अध्ययनरत विद्यार्थीहरूको संग्लग्नतामा विद्यार्थी सञ्जाल गठन गरिएको छ। साउन

    आज हरिशयनी एकादशी : घर–घरमा तुलसीको बिरुवा सारिँदै

    काठमाडौं । हिन्दू धर्मावलम्बीहरूले आज हरिशयनी एकादशी श्रद्धा र भक्तिपूर्वक मनाउँदैछन्। यस दिन भगवान विष्णु क्षीरसागरमा शयन गर्न जाने धार्मिक

    Techie IT