दसैं मनाएर काठमाडौँ फर्कने यात्रुको चाप
काठमाडौं/ २ कात्तिक, दसैँ मनाएर देशकाे सङ्घीय राजधानी काठमाडौँ फर्कनेको चाप बढेको छ । देशभरबाट काठमाडौँ आउने रात्रिबस तथा दिउँसो चल्ने अन्य साना सवारीमा यात्रुको अत्यधिक चाप छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय सर्लाहीले टीकाको भोलिपल्टदेखि काठमाडौँ फर्कने सवारीमा यात्रुको चाप बढेको जनाएको छ ।
कार्यालयका प्रमुख एवं ट्राफिक प्रहरी निरीक्षक रजोस घिमिरेले उपत्यकाबाट जिल्ला भित्रिने यात्रुवाहक सवारी खाली नै आइरहे पनि यताबाट जाने सवारीमा भने यात्रुको अत्यधिक चाप देखिएको जानकारी दिनुभयो । यो वर्ष बाढीपहिरोले बिपी राजमार्गमा व्यापक क्षति पु¥याएपछि धेरै मानिस नारायणगढ–मुग्लिन तथा विभिन्न मार्ग हुँदै हेटौँडा निस्किएर दसैँ मनाउन घर आएका थिए ।
सार्वजनिक गाडी राम्रोसँग सञ्चालन नहुँदा धेरै मानिस त मोटरसाइकलमै घर आइपुगेका थिए । उनीहरू दसैँ मनाएर धमाधम अध्ययन तथा रोजगारीका लागि राजधानी काठमाडौँ फर्किरहेका हुन् । ट्राफिक प्रहरी निरीक्षक घिमिरेले दसैँका बेला केही दिन जिल्लाको पूर्व–पश्चिम राजमार्गका पुलमा सवारीको चाप बढेर जाम परे पनि अहिले त्यस्तो अवस्था नरहेको बताउनुभयो । काठमाडौँ फर्कने सवारीको चाप बढे पनि दसैँको जस्तो पुलमा प्रहरी नै खटाएर सवारी वारपारको व्यवस्था मिलाउनुपर्ने अवस्था नरहेको ट्राफिक प्रहरीका जिल्ला प्रमुख घिमिरेले बताउनुभयो ।
दसैँको टीकाअघि काठमाडौँबाट यात्रु ल्याउन भ्याइनभ्याइ रहेको गाडीलाई अहिले यहाँबाट यात्रु लैजाने चटारो छ । लालबन्दीमा रात्रिबसको काउन्टर सञ्चालन गर्ने सुनील साहले यहाँबाट काठमाडौँ जाने बसमा भरिभराउ यात्रु हुने गरेको बताउनुभयो ।
बिपी राजमार्गमा बाढीपहिरोले क्षति पु¥याएर साना गाडी सञ्चालनमा समस्या पर्दा अहिले सबैभन्दा बढी यात्रुको चाप मुग्लिन भएर चल्ने रात्रिबसमा देखिन्छ । बिपी राजमार्गमा अस्थायी ट्र्याक निर्माणपछि अहिले त्यस रुटमा पनि केही दिनदेखि सर्लाहीबाट थुप्रैै साना गाडी सञ्चालन हुन थालेका छन् । दसैँ मनाएर काठमाडौँ फर्कने यात्रु बढेसँगै मनोमानी ढङ्गले भाडा लिन थालिएको छ । सर्लाहीबाट काठमाडौँ जाने गाडीमा साबिकभन्दा तीनदेखि पाँच सय बढी भाडा लिन थालिएको छ । साना गाडीले एक हजार ५०० रुपियाँसम्म र रात्रिबसले एक हजार २०० रुपियाँदेखि एक हजार ५०० रुपियाँसम्म भाडा लिने गरेका यात्रुको भनाइ छ ।
मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
धेरै पढिएका खबर
- १ आईसीसी विश्वकप लिग–२ आजदेखि, पहिलो खेलमा नेपाल र नामिबियाको प्रतिस्पर्धा
- २ तयारी पोसाक उद्योग प्रवर्द्धनमा सरकारको जोड, ‘टेक्सटाइल एण्ड क्लोदिङ डेभलमेन्ट काउन्सिल’ गठन प्रक्रिया अघि बढाइने
- ३ सरकारको मिडिया नीतिको विरोध गर्दै पत्रकारहरु माइतीघरमा प्रदर्शन
- ४ राष्ट्रिय सभाका तीन समितिको आज बैठक, ऐन कार्यान्वयनदेखि राष्ट्रिय महिला आयोगको प्रतिवेदनसम्म छलफल
- ५ साउनको पहिलो सोमबार : देशभर भगवान् शिवको विशेष पूजा–आराधना
- ६ कीर्तिपुरमा चलिरहेको निजी कारमा आगलागी, चालक मृत फेला
- ७ विकासको केन्द्रमा मानव र प्रकृति हुनुपर्छ : राष्ट्रपति पौडेल

तपाईको प्रतिक्रिया दिनुहोस