‘पदयात्रा मार्गमा जाँचचौकी नहुँदा राजस्व गुम्यो’
गण्डकी, ३० वैशाखः पदयात्री सूचना व्यवस्थापन प्रणाली (टिम्स कार्ड) जाँच गर्न ‘चेकपोष्ट’ नहुँदा पदयात्री अवैध रूपमा प्रवेश गर्ने क्रम बढेको सूचनासँगै ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल (टान) गण्डकी प्रदेशले शनिबार अन्नपूर्ण गाउँपालिकाको वीरेठाँटीमा स्थलगत अनुुगमन गरेको छ ।
‘सुरक्षित र मर्यादित पदयात्राका लागि सचेतना तथा अनुुगमन’ कार्यक्रमका साथ टान गण्डकीका अध्यक्ष धर्मराज पन्थी नेतृत्वमा पर्यटन व्यवसायी, पर्यटन प्रहरी, अन्नपूर्ण संरक्ष्ण क्षेत्र आयोजना (एक्याप) पोखराका प्रतिनिधि, पर्यटनसम्बद्ध मजदुर सङ्गठनका प्रतिनिधि एवं सञ्चारकर्मीसहितको टोलीले वीरेठाँटीमा स्थलगत अनुुगमनसँगै पदयात्रा क्षेत्रका समस्या, टिम्स कार्ड चेकपोष्ट नहुँदा पर्ने कठिनाइ, सुरक्षित पदयात्रालगायत विषयमा जानकारी लिएको हो । कोरोनामहामारीपछि टिम्स कार्ड चेकपोष्ट बन्द भएकामा त्यसयता हालसम्म खुल्न नसक्दा त्यसले टिम्स कार्ड नलिइकन यात्रा गर्ने क्रम बढेका कारण राजस्व सङ्कलनमा कमी आउनुुका साथै पदयात्रीमा असुरक्षासमेत बढेको अध्यक्ष पन्थीले बताउनुुभयो । अनुुगमनका क्रममा संरक्षण क्षेत्रबाट प्रवेशको अनुमति मात्र लिएर पदयात्रीले पदयात्रा गरिरहेको पाइएको बताउँदै उहाँले वीरेठाँटीबाट प्रवेशको अनुमतिबाहेक सरकारले जारी गरेको ‘टिम्स’ कार्ड नलिइ जाने विदेशी पदयात्री बढेको पाइएको बताउनुुभयो । पदयात्रीको सुरक्षालाई दृष्टिगत गरी सरकारले ‘टिम्स कार्ड’सँगै पदयात्रामा एक्लै जान नपाउने निर्णय अघिल्लो वर्ष नै गरेको उल्लेख गर्दै उहाँले उक्त नियमको प्रभावकारी कार्यान्वयन हुन नसकेको बताउनुुभयो । पदयात्रामा एक्लै जाने क्रम बढ्दा पर्यटक बेपत्ता हुने र दुर्घटना हुँदा खोजी र उद्धारमा कठिनाइ भएपछि संरक्षित क्षेत्रमा पदयात्रामा जाने प्रत्येक विदेशीले पथप्रदर्शक अथवा सहयोगी लैजानुपर्ने नियम बनाइएको हो ।
सरकारले निर्णय गरेको एक वर्ष बित्दा पनि चेकपोष्ट स्थापना नहुँदा पदयात्रा क्षेत्रमा असुरक्षा बढेको उहाँले बताउनुभयो । नेपाल पर्यटन बोर्डले चेकपोष्ट स्थापना नगर्दा अवैध रूपमा भ्रमण गर्ने पदयात्री बढ्दै गएका तथा राजस्व पनि गुमेको टान गण्डकीका प्रथम उपाध्यक्ष कृष्णप्रसाद आचार्य बताउनुुहुन्छ । अवैध ढङ्गले पदयात्रामा निस्कदा कुनै विदेशी हराए, घाइते वा ज्यान गएमा त्यसले देशको पदयात्रा पर्यटनमा नकारात्मक सन्देश प्रवाह गर्ने बताउँदै उहाँले यथाशक्य चाँडो टिम्स कार्ड चेकपोष्ट स्थापना गर्नुुपर्नेमा जोड दिनुुभयो । “टिम्स कार्डसँगै उनीहरू कहाँ, कसरी र कस्तो सहयोगीका साथ जादैछन् भन्ने जानकारी हुने भएकाले उनीहरूको सुरक्षाका लागि त्यो अपरिहार्य छ”, उहाँले भन्नुुभयो । वीरेठाँटी भएर अन्नपूर्ण आधार शिविर, घोरेपानी, खोप्रा लेकलगायत पदमार्गमा जाने पर्यटकको सङ्ख्या गत वर्षभन्दा बढेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) वीरेठाँटी चेकपोष्टका प्रमुख यामबहादुर गुरुङले बताउनुुभयो ।
अघिल्लो वर्षको मेसम्म यस चेकपोष्टबाट १८ हजार चार सय ९७ जना पर्यटक पदयात्रामा आइका जानकारी दिँदै उहाँले यस वर्षको सोही अवधिमा २१ हजार तीन सय ५८ जना पदयात्रामा आगएका बताउनुभयोे । अनुगमनका क्रममा अन्नपूर्ण गाउँपालिका वडा नं ७ र ८ का वडाध्यक्षलाई टान गण्डकीका तर्फबाट पदयात्रामा जाने पर्यटकका लागि फोहर गर्न नहुने, प्रकृति बचाउनुपर्नेलगायत उल्लेखित साइनबोर्ड हस्तान्तरण गरिएको थियो ।
मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
धेरै पढिएका खबर
- १ आईसीसी विश्वकप लिग–२ आजदेखि, पहिलो खेलमा नेपाल र नामिबियाको प्रतिस्पर्धा
- २ तयारी पोसाक उद्योग प्रवर्द्धनमा सरकारको जोड, ‘टेक्सटाइल एण्ड क्लोदिङ डेभलमेन्ट काउन्सिल’ गठन प्रक्रिया अघि बढाइने
- ३ सरकारको मिडिया नीतिको विरोध गर्दै पत्रकारहरु माइतीघरमा प्रदर्शन
- ४ राष्ट्रिय सभाका तीन समितिको आज बैठक, ऐन कार्यान्वयनदेखि राष्ट्रिय महिला आयोगको प्रतिवेदनसम्म छलफल
- ५ साउनको पहिलो सोमबार : देशभर भगवान् शिवको विशेष पूजा–आराधना
- ६ कीर्तिपुरमा चलिरहेको निजी कारमा आगलागी, चालक मृत फेला
- ७ विकासको केन्द्रमा मानव र प्रकृति हुनुपर्छ : राष्ट्रपति पौडेल

तपाईको प्रतिक्रिया दिनुहोस