काठमाडौँ । आज नेपालभर लोकतन्त्र दिवस (वैशाख ११) विभिन्न कार्यक्रमका साथ मनाइँदैछ। यो दिन नेपाली जनताको अधिकार, स्वतन्त्रता र लोकतान्त्रिक परिवर्तनको ऐतिहासिक प्रतीकका रूपमा स्मरण गरिन्छ।
विसं २०६३ वैशाख ११ गते तत्कालीन राजा ज्ञानेन्द्र शाह ले जनआन्दोलनको दबाबपछि विघटित प्रतिनिधिसभा पुनःस्थापना गरेका थिए। त्यसअघि विसं २०५९ जेठ ८ गते संसद् विघटन भएपछि देशमा राजनीतिक अस्थिरता चुलिएको थियो। निर्वाचन हुन नसकेपछि राजाले लोकेन्द्रबहादुर चन्द, सूर्यबहादुर थापा र शेरबहादुर देउवालाई पटक–पटक प्रधानमन्त्री नियुक्त र बर्खास्त गर्ने क्रम चलाएका थिए।
विसं २०६१ माघ १९ गते राजा ज्ञानेन्द्रले प्रत्यक्ष शासन हातमा लिएपछि आन्दोलनरत सात दल र तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (माओवादी) बीच १२ बुँदे समझदारी भयो। यसले विभाजित राजनीतिक शक्तिलाई एकताबद्ध गर्दै जनआन्दोलनलाई निर्णायक मोडमा पुर्यायो।
विसं २०६२ फागुनदेखि सुरु भएको आन्दोलन चैतमा तीव्र बन्दै नयाँ वर्षसँगै लाखौँ जनता सडकमा उत्रिए। काठमाडौँको चक्रपथ मानवसागरले भरिएपछि अन्ततः राजा ज्ञानेन्द्र दलहरूको मार्गचित्रमा सहमत भए र वैशाख ११ गते राति संसद् पुनःस्थापनाको घोषणा गरे। यही ऐतिहासिक उपलब्धिलाई सम्झिँदै २०६४ सालदेखि वैशाख ११ लाई लोकतन्त्र दिवसका रूपमा मनाउन थालिएको हो।
पुनःस्थापित संसद्ले विसं २०६३ जेठ ४ गते राजदरबारको अधिकार कटौती गर्दै माओवादीलाई शान्ति प्रक्रियामा ल्याउने र संविधानसभा निर्वाचन गर्ने संकल्प प्रस्ताव पारित गरेको थियो। त्यसपछि विसं २०६४ चैत २८ गते पहिलो संविधानसभा निर्वाचन सम्पन्न भयो।
संविधानसभाको पहिलो बैठकले विसं २०६५ जेठ १५ गते २४० वर्षे राजसंस्थाको अन्त्य गर्दै नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गर्यो। यद्यपि पहिलो संविधानसभाले संविधान जारी गर्न नसके पनि महत्वपूर्ण आधार तयार गर्यो। त्यसपछि विसं २०७० मंसिर ४ गते दोस्रो संविधानसभा निर्वाचन सम्पन्न भई अन्ततः विसं २०७२ असोज ३ गते नेपालको नयाँ संविधान जारी भयो।
हाल संविधानअनुसार संघीय, प्रादेशिक र स्थानीय तहका सरकार सञ्चालनमा छन्। यस सम्पूर्ण राजनीतिक परिवर्तनको प्रवेशद्वारका रूपमा वैशाख ११ लाई लोकतन्त्रको आधारशिला र जनअधिकारको विजय दिवसका रूपमा विशेष महत्वका साथ मनाइँदै आएको छ।
मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
धेरै पढिएका खबर
- १ सुनचाँदीको मुल्य बढ्यो
- २ सुकम्बासी बस्तीमा डोजर चले प्रतिकार गर्न तयार रहेको सुकुम्बासी संघको चेतावनी
- ३ आज बीसौँ लोकतन्त्र दिवस मनाइँदै
- ४ सिन्धु त्रिवेणीघाटको सम्भावना
- ५ गाउँ फर्किने सपना देखाउने फिल्म ‘पहाड’
- ६ आजपाको काठमाडौं जिल्ला कमिटी अध्यक्षमा खगेश रंजितकार
- ७ वैशाख १५ देखि काठमाडौंका सबै विद्यालय नियमित सञ्चालन हुने

तपाईको प्रतिक्रिया दिनुहोस