मुलुकको वैदेशिक व्यापार घाटा १४ खर्ब ४० अर्ब
काठमाडौँ । गत आर्थिक वर्ष २०८०/८१ मा नेपालले कूल रु १७ खर्ब ४५ अर्ब ३६ करोड ६७ लाख बराबरको वैदेशिक व्यापार गर्दा रु १४ खर्ब ४० अर्ब ६० करोड ४२ लाख घाटा व्यहोरेको छ । भन्सार विभागले सार्वजनिक गरेको गत आवको वैदेशिक व्यापारको तथ्याङ्कअनुसार कुल रु पन्ध्र खर्ब ९२ अर्ब ९८ करोड ५५ लाखको वस्तु आयात गर्दा रु एक खर्ब ५२ अर्ब ३८ करोड १२ लाखको मात्रै निर्यात गरेको देखिएको हो ।
विभागको तथ्याङ्कअनुसार अघिल्लो आवको तुलनामा आयात, निर्यात र समग्र वैदेशिक व्यापार घटेको छ । अघिल्लो आव २०७९/८० मा नेपालले रु १६ खर्ब ११ अर्ब ७३ करोड १७ लाख बराबरको आयात र रु एक खर्ब ५७ अर्ब १४ करोड छ लाख बराबरको निर्यात गर्दा कूल वैदेशिक व्यापार रु १७ खर्ब ६८ अर्ब ८७ करोड २४ लाख पुगेको थियो ।
अघिल्लो आवको वैदेशिक व्यापार घाटा रु १४ खर्ब ५४ अर्ब ५९ करोड ९१ लाख बराबर थियो । अघिल्लो आवको तुलनामा गत आवमा आयात एक दशमलव १६, निर्यात तीन दशमलव ०३, समग्र वैदेशिक व्यापार एक दशमलव ३३ र वैदेशिक व्यापार घाटा शून्य दशमलव ९६ प्रतिशतले घटेको हो । गत आवको आयात–निर्यात अनुपात १० दशमलव ४५ प्रतिशत बराबर छ । गत आवमा सबैभन्दा धेरै भारतसँग व्यापारघाटा देखिएको छ । भारतबाट रु नौ खर्ब ९६ अर्ब ६८ करोडको वस्तु आयात हुँदा रु एक खर्ब तीन अर्ब १७ करोड बराबर मात्रै निर्यात भएको छ । जसबाट भारतसँगको मात्र कूल व्यापार घाटा रु आठ खर्ब ९३ अर्ब ५० करोड बराबर छ ।
नेपालको अर्को छिमेकीमुलुक चीनसँग रु दुई खर्ब ९६ अर्ब १८ करोड ६० लाख बराबर व्यापार घाटा छ । चीनबाट रु दुई खर्ब ९८ अर्ब ७७ करोड बराबरको वस्तु आयात हुँदा रु २५ अर्ब ८८ करोड बराबरको मात्रै निर्यात भएको हो । नेपालले बढी व्यापार घाटा व्यहोरेका मुलुकहरुमा संयुक्त अरब ईमिरेट्स तेस्रो, युक्रेन चौथो र मलेसिया पाँचौँं स्थानमा छ ।
व्यापार नाफाको अवस्था हेर्दा नेपालले डेनमार्कसँगको व्यापारमा सबैभन्दा बढी नाफा देखिएको छ । गत आवमा नेपालले डेनमार्कबाट रु ३५ करोड ४५ लाख बराबरको वस्तु आयात गर्दा रु ८२ करोड २१ लाख बराबरको निर्यात गरेको छ । जसबाट रु ४६ करोड ७५ लाख व्यापार नाफा देखिएको हो ।
बढी व्यापार नाफा देखिएका मुलुकमा अफगानिस्तान दोस्रो स्थानमा छ । गत आवमा नेपालले अफगानिस्तानबाट दुई करोड ७६ लाख बराबरको वस्तु आयात गर्दा रु ४९ करोड ३६ लाख बराबरको निर्यात गरेको छ । जसबाट अफगानिस्तानसँग रु ४६ करोड ६० लाख बराबरको व्यापार नाफा भएको छ ।
गत आवमा सबैभन्दा धेरै पेट्रोलियम पदार्थको आयात भएको छ । विभागको तथ्याङ्कअनुसार गत आवमा रु एक खर्ब ४३ अर्ब ९७ करोड ६९ लाख बराबरको डिजेल, रु ६८ अर्ब १० करोड २० लाखको पेट्रोल र रु ५५ अर्ब ६१ करोड ८४ लाख बराबरको एलपी ग्याँस आयात भएको छ । रु ३९ अर्ब तीन करोड ४३ लाख बराबरको फलामजन्य वस्तु आयात भएको छ । स्मार्टफोनमात्र रु २८ अर्ब ६६ करोड ६२ लाख बराबरको आयात भएको छ ।
त्यस्तै, रु २३ अर्ब ६५ करोड ३९ लाख बराबरको सुन आयात भएको छ । नेपालले बढी निर्यात गरेका वस्तुमा कार्पेट, अलैँची, फलाम तथा स्टिलजन्य, जुसलगायत वस्तु छन् । गत आवमा नेपालले सबैभन्दा धेरै रु १० अर्ब ५७ करोड २४ लाख बराबरको कार्पेट र रु सात अर्ब ९३ करोड ८१ लाख बराबरको अलैँची निर्यात गरेको छ ।
मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
धेरै पढिएका खबर
- १ आईसीसी विश्वकप लिग–२ आजदेखि, पहिलो खेलमा नेपाल र नामिबियाको प्रतिस्पर्धा
- २ तयारी पोसाक उद्योग प्रवर्द्धनमा सरकारको जोड, ‘टेक्सटाइल एण्ड क्लोदिङ डेभलमेन्ट काउन्सिल’ गठन प्रक्रिया अघि बढाइने
- ३ सरकारको मिडिया नीतिको विरोध गर्दै पत्रकारहरु माइतीघरमा प्रदर्शन
- ४ राष्ट्रिय सभाका तीन समितिको आज बैठक, ऐन कार्यान्वयनदेखि राष्ट्रिय महिला आयोगको प्रतिवेदनसम्म छलफल
- ५ साउनको पहिलो सोमबार : देशभर भगवान् शिवको विशेष पूजा–आराधना
- ६ कीर्तिपुरमा चलिरहेको निजी कारमा आगलागी, चालक मृत फेला
- ७ विकासको केन्द्रमा मानव र प्रकृति हुनुपर्छ : राष्ट्रपति पौडेल

तपाईको प्रतिक्रिया दिनुहोस