देशभर १९ हजार जना डेङ्गु सङ्क्रमित, सतर्क रहन आग्रह
काठमाडौं/ १ कात्तिक, देशभर डेङ्गु सङ्क्रमण तीव्ररुपमा फैलिरहेको छ । ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को पछिल्लो तथ्याङ्क अनुसार डेङ्गु सङ्क्रमितको सङ्ख्या १९ हजार पाँच ९९ पुगेको छ । डेङ्गु सङ्क्रमणबाट हालसम्म नौ जनाले ज्यान गुमाइसकेका छन् ।
डेङ्गु सङ्क्रमण मुलुकका ७६ जिल्लासम्म फैलिएको महाशाखाले जनाएको छ । डेङ्गु सङ्क्रमण सबैभन्दा बढी काठमाडौँमा फैलिएको छ । काठमाडौँमा डेङ्गु सङ्क्रमणबाट हालसम्म तीन हजार एक सय तीन जना प्रभावित बनेका छन् ।
यस्तै कास्कीमा दुई हजार आठ सय ४७ जनामा डेङ्गु सङ्क्रमण देखिएको छ । तनहुँमा दुई हजार एक सय सात, पर्वतमा एक हजार पाँच सय ६२, चितवनमा नौ सय ७१, ललितपुरमा आठ सय २७, गोरखामा ५ सय ८८, बाग्लुङमा छ सय १०, भक्तपुरमा तीन सय ५५ तथा स्याङ्जामा तीन सय ३५ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भइसकेको महाशाखाले जनाएको छ ।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका रिसर्च युनिटका संयोजक तथा सङ्क्रामक रोग विशेषज्ञ डा शेरबहादुर पुनले भन्नुभयाे, “पोस्ट मनसुन सुरु हुँदा डेङ्गुको जोखिम बढ्ने सम्भावना हुन्छ । दशैं लगत्तै अस्पताल आउने डेङ्गुका बिरामी बढिरहेका छन् । समुदायमा डेङ्गु सङ्क्रमण फैलिएको देखिन्छ ।”
विसं २०८० को पुस मसान्तसम्म देशभर झण्डै ५२ हजारभन्दा बढीमा डेङ्गु सङ्क्रमण पुष्टि भएकामा २० जनाको मृत्यु भएको थियो । “डेङ्गु एडिस एजिप्टाई जातको पोथी लामखुट्टेको टोकाइबाट सर्ने एक प्रकारको कीटजन्य रोग हो । लामखुट्टेको टोकाइबाट बच्न पूरा शरीर ढाक्ने कपडा लगाउने, खाल्डाखुल्डी पुर्ने, खानेपानी वा ढल चुहिएको छ भने तत्काल मर्मत गर्ने, खाली भाँडाकुँडा घोप्ट्याएर राख्ने, पानीको ट्याङ्की पूरै खाली गरेर सफा गरिरहने, सुत्ने बेला झुलको प्रयोग गर्नुपर्छ ।
डेङ्गु सङ्क्रमणबाट बच्न मुख्यतः लामखुट्टेको टोकाइबाट जोगिनुपर्छ।” डा पुनले भन्नुभयाे, “झूलको प्रयोग गर्नु राम्रो हुन्छ । जटिल लक्षण देखिए स्वास्थ्य संस्थामा सम्पर्क गर्नुपर्छ ।”
मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
धेरै पढिएका खबर
- १ नेप्सेमा दोहोरो अंकको गिरावट, सूचक २६६० बिन्दुमा सीमित
- २ ११ महिनामा सबैभन्दा बढी डिजेल आयात, कुल आयात १८ खर्ब ९४ अर्ब पुग्यो
- ३ सिन्धु त्रिवेणीघाटको सम्भावना
- ४ राष्ट्रियतामाथि शंका नगर्न प्रधानमन्त्री बालेन शाहको आग्रह
- ५ विश्वकप : मोरक्कोको पहिलो जित
- ६ चीन भ्रमण सम्पन्न गरी स्वदेश फर्किए परराष्ट्रमन्त्री खनाल, नेपाल–चीन सहकार्य विस्तारमा जोड
- ७ रास्वपाको प्रथम महाधिवेशन भरतपुरमा सुरु, रवि र बालेनले संयुक्त उद्घाटन

तपाईको प्रतिक्रिया दिनुहोस