सूचना माग्नेकाे नियतका अनावश्यक कुरा गरेर सूचना लुकाउनु जायज छैन – प्रमुख आयुक्त गुरुङ
ललितपुर/ १५ भदौ, राष्ट्रिय सूचना आयाेगका प्रमुख सूचना आयुक्त डाक्टर महेन्द्रमान गुरुङले सूचना माग्नेकाे नियतका अनावश्यक कुरा गरेर सूचना लुकाउनु जायज छैन भन्नुभएको छ ।
सूचनाको हकका लागि राष्ट्रिय महासंघद्वारा आज शनिबार ललितपुरको गाेदावरीमा आयाेजित दिगाे सूचना प्रवर्द्धन परियाेजना अन्तर्गत “मधेश र लुम्बिनी प्रदेशमा सूचनामा दिगो पहुँच प्रवर्द्धन”का लागि नागरिक समाज संस्थाका प्रतिनिधिहरुलाई सूचनामा दिगो पहुँचमा पुर्याउन प्रशिक्षक प्रशिक्षणकाे उद्घाटनसत्रमा मन्तव्य राख्नुहुँदै सूचनाको हक नागरिकको अधिकार भएकोले यसलाई अभियानका रुपमा लगिनुपर्ने बताउनुभएको हाे ।
“सूचनाको हक संविधानकाे धारामा व्यवस्था हुनु मात्रै उपलब्धि हैन, अभ्यास हुनु र,सार्वजनिक निकायकाे सूचना नागरिकले प्राप्त गर्नसक्नु महत्त्वपूर्ण हाे, महत्त्वपूर्ण भएर नै अन्तरिम संविधानमा समेत सूचनाको हककाे व्यवस्था गरिएको थियो, यसले भ्रष्टाचारकाे कुरालाई उजागर गर्न सहयाेग पुर्याउँछ, बुझेर लाग्नुभयाे भने अरुलाई सूचनाको हकका बारेमा बुझाउन सकिन्छ।” उहाँले भन्नुभयो ।
सूचनाको हक नेपालमा भएका कानूनहरुमध्ये सबै भन्दा सरल कानून हाे भन्नुहुँदै उहाँले याे अभ्यासबाट सार्वजनिक निकाय सचेत हाेस् भन्नुभयो । सूचना अधिकारी व्यवस्था गर्ने काम सार्वजनिक निकायकाे हाे भन्नुहुँदै उहाँले सार्वजनिक निकायले सूचना अधिकारीकाे व्यवस्था नगरेको भएपनि तपाई सूचनाको हक प्रयाेग गर्नुस्, त्यसले धेरै कुरा सहयाेग गर्छ भन्नुभयो ।
“सूचनाको हकले शासन जसरी पनि चल्छ भन्ने मनगणन्ते व्यवहारलाई परिवर्तन गर्छ, नेपालमा भएका सवै कानून कार्यन्वयन भएका छन् कि छैनन् भनेर हेर्न पनि यसैले सहयाेग गर्छ, तथ्यमा आधारित पत्रकारिताका लागि पनि सूचनाको हकले सहयाेग गर्छ ।” उहाँले भन्नुभयो ।
सूचना आयाेगमा सूचनाको हककाे पुनरावेदन अझै पनि धेरै कम परेका छन् भन्दै उहाँले सूचना माग्ने बानी बसाल्न सकिएकाे छैन भन्नुभयो ।
“केही दिन अगाडि १८ओैं स्थापना दिवस मनाइयो, अझै पनि सूचनाको हकका बारेमा धेरै बुझाउनु छ । हाम्रो देशमा सूचनाको आउने बेलामा २०/३० वटा राष्ट्ररहरुमा मात्रै सूचनाको हककाे व्यवस्था थियाे, अहिले १४० वटा देशमा लागू भएको छ, संयुक्त राष्ट्र संघले सूचनाको हककाे प्रवर्द्धनका लागि ताेकिएकाे अन्तर्राष्ट्रिय दिवस आउन केही समय बाँकी छ। धेरैले सूचना माग्नु पर्छ, सूचनाको हक प्रयाेग गरेर बाहिर आएका तथ्यका कारण धेरैकाे जीवनमा सहजता आएकाे पनि छ।” उहाँले भन्नुभयो ।
नागरिकलाई सचेत बनाउन याे प्रशिक्षणबाट प्रशिक्षित हुनेहरुले महत्त्वपूर्ण भूमिका निर्वाह गर्न सक्छन् भन्नुहुँदै उहाँले नागरिकको हक र अधिकारका रुपमा सूचना माग्न नागरिकलाई प्राेत्साहित गर्नु पर्छ भन्नुभयाे । तालिमबाट प्रशिक्षार्थीहरुले सिकेको ज्ञान र सीपकाे आधारमा अभ्यास हुने भन्दै उहाँले सहभागीहरुलाई अत्यन्तै ध्यान दिएर लाग्न आग्रह गर्नुभयाे ।
महासंघका अध्यक्ष उमीद बागचन्दले सूचनाको हकलाई देशभर तल्लो तहका जनतालाई सुसूचित गराउन याे प्रशिक्षण आयाेजना गरिएको बताउनुभयाे । उहाँले सूचनाको हक प्रयाेग गरेर सूचना माग्ने मात्रै हैन सूचनाको उपयाेग गर्ने कुरामा पनि सूसूचित गराउने अभिप्रायका अनुसार सुरु भएको याे अभियानले नागरिककाे जीवनमा परिवर्तन ल्याउन महत्त्वपूर्ण हुने विश्वास व्यक्त गर्नुभयाे।
प्रशिक्षक चिरञ्जीवी खनालले नेपालभरि सूचनाको हककाे अभ्यास गर्न समुदायस्तरमा सचेतता जगाउन सार्थकसिद्ध हुने विश्वास गर्नुभयाे ।
महासंघका महासचिव अजय शाहले सूचना माग्नका लागि अभिप्रेरित गर्ने अभिप्रायले कार्यक्रमहरु गर्दै आइरहेको बताउँदै याे तीन दिने तालिममा सहभागीहरुबाट अभियानका लागि महत्त्वपूर्ण सहयाेग मिल्ने बताउनुभयो ।महासंघका केन्द्रीय सदस्य तथा सूचनाको हकका अभियान्ता महेन्द्र भट्टराईले कालिकोटमा उपभोक्ता समितिमार्फत काम गरेका मजदुरहरुले छ महिनासम्म पारिश्रमिक पाउन नसकेको अवस्थामा सूचनाको हक प्रयाेग गरेर दुई महिनामा नै पाउने व्यवस्था मिलाउन सकिएकाे अनुभव सुनाउनुभयो ।
सूचनाको हकका अभ्यासकर्ता विश्वजीत तिवारीले सूचनाको हक लाेकतन्त्रकाे प्राणवायू भएको बताउँदै सत्यतथ्य कुरा उजागर गर्न सहयाेग पुर्याउने विश्वास व्यक्त गर्नुभयो। मिलाएर बाँडिचुडी खाने प्रवृत्तिलाई उजागर गर्न नागरिकलाई सही सूचना पुर्याउन सहयाेग पुग्ने अपेक्षा गर्नुभयाे ।
महासंघका बरिष्ठ उपाध्यक्ष ताराबहादुर भण्डारीले संविधानले आम नागरिकलाई सूचनाको दिएकाे हक प्रयाेग गरेर सूचना माग्ने अभ्यास नभएसम्म हक प्राप्त भएको मानिदैन भन्नुभयो । उहाँले तीन दिनसम्म सञ्चालन हुने प्रशिक्षक प्रशिक्षण कार्यक्रमले सूचनाको हक ज्ञान र सीपकाे विकास गरेर अभ्यासमा उतार्न सहयाेग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
दिगाे सूचना प्रवर्द्धन परियाेजना अन्तर्गत “मधेश र लुम्बिनी प्रदेशमा सूचनामा दिगो पहुँच प्रवर्द्धन”का लागि नागरिक समाज संस्थाका प्रतिनिधिहरुलाई सूचनामा दिगो पहुँचमा पुर्याउन आजबाट सुरु भएको प्रशिक्षक प्रशिक्षण तीनदिनसम्म सञ्चालन हुनेछ।
मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
धेरै पढिएका खबर
- १ नेप्सेमा दोहोरो अंकको गिरावट, सूचक २६६० बिन्दुमा सीमित
- २ ११ महिनामा सबैभन्दा बढी डिजेल आयात, कुल आयात १८ खर्ब ९४ अर्ब पुग्यो
- ३ सिन्धु त्रिवेणीघाटको सम्भावना
- ४ विश्वकप : मोरक्कोको पहिलो जित
- ५ राष्ट्रियतामाथि शंका नगर्न प्रधानमन्त्री बालेन शाहको आग्रह
- ६ चीन भ्रमण सम्पन्न गरी स्वदेश फर्किए परराष्ट्रमन्त्री खनाल, नेपाल–चीन सहकार्य विस्तारमा जोड
- ७ रास्वपाको प्रथम महाधिवेशन भरतपुरमा सुरु, रवि र बालेनले संयुक्त उद्घाटन

तपाईको प्रतिक्रिया दिनुहोस