१६ सय वर्ष पुरानो रातो मच्छिन्द्रनाथ जात्रा आज ‘भोटो जात्रा’सँगै सम्पन्न हुँदै
काठमाडौँ — उपत्यकाकै सबैभन्दा लामो तथा प्रमुख जात्राका रूपमा परिचित रातो मच्छिन्द्रनाथ रथयात्राअन्तर्गत आज जावलाखेलमा ‘भोटो जात्रा’ मनाइँदै छ। गुठी संस्थानका अनुसार रथका चारै कुनामा उभिएर हीरा, मोती र मणिमाणिक्य जडित भोटो सर्वसाधारणलाई देखाइनेछ। कार्यक्रममा राष्ट्रपतिसहित राज्यका विशिष्ट व्यक्तिहरूको उपस्थिति रहने जनाइएको छ।
भोटो प्रदर्शनपछि करिब तीन महिनादेखि जारी रथयात्रा औपचारिक रूपमा सम्पन्न हुनेछ। परम्पराअनुसार सोही दिन रातो मच्छिन्द्रनाथलाई खटमा राखेर बुङ्मती पुर्याइन्छ। देवताको रथ छ महिनासम्म बुङ्मतीमा राखिएपछि पुनः साइत हेरी पाटनको मच्छिन्द्रबहाल ल्याइने चलन छ।
करिब १६ सय वर्षअघि सुरु भएको मानिने मच्छिन्द्रनाथ जात्रा खेतीपाती र सहकालसँग जोडिएको पर्व हो। विसं ५४६ देखि सुरु भएको विश्वास गरिने यो जात्रालाई हिन्दू र बौद्ध धर्मावलम्बीले समान श्रद्धाका साथ मनाउँदै आएका छन्। हिन्दूहरूले मच्छिन्द्रनाथलाई करुणामय सन्तका रूपमा पूजा गर्छन् भने बौद्ध धर्मावलम्बीले उनलाई पद्मपाणि अर्थात् पञ्चबुद्धमध्ये चौथो बुद्धका रूपमा मान्ने गर्छन्।
किंवदन्तीअनुसार लामो अनिकालपछि भक्तपुरका तत्कालीन राजा नरेन्द्रदेवले वर्षा र सहकालको कामना गर्दै उपत्यकामा रातो मच्छिन्द्रनाथको आराधना सुरु गराएका थिए। जात्रा वैशाख शुक्ल प्रतिपदादेखि असार शुक्ल चौथीसम्म सञ्चालन हुन्छ। ३२ हात अग्लो रथलाई बाजागाजासहित ललितपुरका विभिन्न टोलमा परिक्रमा गराइन्छ।
भोटो जात्राको किंवदन्ती
भोटो जात्रासँग जोडिएको लोकप्रिय किंवदन्ती अनुसार नागराज कर्कोटककी रानीको आँखाको रोग निको पारेपछि एक किसानले उपहारस्वरूप मणिजडित भोटो पाएका थिए। पछि खेतमा राखिएको उक्त भोटो एक भूतले लगेर गएको बताइन्छ।
वर्षौँपछि मच्छिन्द्रनाथको जात्रामा भूतले सोही भोटो लगाएर आएपछि किसानले आफ्नो भोटो भएको दाबी गरे। विवाद बढेपछि नागराज कर्कोटकले पनि आफूले किसानलाई दिएको बताए तापनि भूतले स्वीकार नगरेको किंवदन्ती छ। त्यसपछि तत्कालीन राजा वरदेवले प्रमाणसहित उपस्थित हुन आदेश दिँदै भोटो सुरक्षित राख्न लगाए। त्यही घटनाको स्मरणमा आजसम्म “यो कसको भोटो हो ?” भन्दै चारैतर्फ फर्काएर भोटो देखाउने परम्परा कायम रहेको विश्वास गरिन्छ।
यस वर्षको रथयात्रा
यस वर्ष रातो मच्छिन्द्रनाथको रथयात्रा वैशाख २५ गते पुल्चोकबाट सुरु भएको थियो। रथलाई गाःबहाल, सुन्धारा, लगनखेल हुँदै विभिन्न स्थानमा परिक्रमा गराइएको थियो। लगनखेल पुगेपछि ५५ वर्षीय ञँवाल प्रेम डंगोलले नरिवल खसाल्ने परम्परा निर्वाह गरेका थिए। त्यसको भोलिपल्ट सयौँ महिलाले रथ तानेको ‘याक मिसा भुजा’ पर्व पनि सम्पन्न भएको थियो।
पछि रथलाई इटिटोल, मानभवन र कुमारीपाटी हुँदै जावलाखेल पुर्याइएको थियो, जहाँ आज भोटो जात्रा मनाइँदै छ।
मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
धेरै पढिएका खबर
- १ स्पेनलाई रोक्दै केप भेर्डेको ऐतिहासिक सफलता, गोलरक्षक भोजिन्हाको भावुक प्रतिक्रिया
- २ परराष्ट्रमन्त्री शिशिर खनाल आज चीन भ्रमणमा प्रस्थान गर्दै
- ३ राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल अख्तियारको नियन्त्रणमा
- ४ २४ घण्टामा काठमाडौंमा २,४०८ चालक कारबाहीमा
- ५ गण्डकी प्रदेशको ३२ अर्ब ९९ करोडको बजेट सार्वजनिक, पूर्वाधारमा उच्च प्राथमिकता
- ६ फिफा विश्वकप : ब्राजिल र मोरक्को १–१ को बराबरीमा, दुवैले बाँडे एक–एक अंक
- ७ भ्रामक एसएमएसबाट सावधान रहन नेपाल टेलिकमको आग्रह, शंकास्पद लिंकमा क्लिक नगर्न चेतावनी

तपाईको प्रतिक्रिया दिनुहोस