५८ सैनिकको १७ घन्टे खटाइले १६ दिनमै बन्यो खुर्कोटको बेलीब्रिज
काठमाडौँ/५कात्तिक,पूर्वी र मध्य नेपाललाई संघीय राजधानी काठमाडौंसँग जोड्ने बिपी राजमार्ग असोज १०–१२ सम्मकाे अविरल वर्षापछिकाे बाढीले क्षतविक्षत बनायो। बिपी राजमार्ग मात्रै क्षतविक्षत भएन, सिन्धुली–रामेछाप जोड्ने सुनकोसीमा बनेको खुर्कोटको मोटरेबल पुल पनि सोही बाढीको सिकार भयो।
सामान्य अवस्थामा एउटा पुल बनाउन वर्षौं लागिरेहको नेपालको सन्दर्भमा नेपालीको पर्व दसैंका बेला उक्त पुल तत्कालै बन्ने सम्भावना थिएन। नेपालको खरिद नियमका कारण काम गर्न चाहने कर्मचारी र निकायलाई सहज वातावरण पनि छैन।
आपतविपतको समयमा प्रयोग हुने साधन र जनशक्ति नभएको तथा छोटो प्रक्रियाबाट काम गर्न सेनालाई सहज हुने भन्दै भौतिक मनत्रालयले ब्रिज जडानको जिम्मेवारी सेनालाई दिएको थियो। १०० मिटर लामो पुलमध्ये ५० मिटर सुनकोसीको बाढीले बगाएपछि बाँकी ५० मिटर भागमा बेलीब्रिज जडान गरिएको हो।
५८ सेना फिल्डमा
दुई सातामै खुर्कोटमा बेलीब्रिज तयार गर्न ५८ सेनामा जवान खटिएका थिए। महासेनानी (कर्नेल) नारायण तुम्बाहाम्फेको
नेतृत्वमा खटिएको सेनाको ब्रिज युनिटले दैनिक १७ घण्टासम्म काम गरेको थियो। कर्नेल तुम्बाहाम्फेका अनुसार बिहान ६ देखि राती ११ बजेसम्म काम गरेर बेलीब्रिज तयार भएको हो।
५८ मध्ये ४० जनाले ब्रिज जोड्ने काम गरियाे्गर भने बाँकी जवानले सुरक्षा दिने, फोटो खिच्ने, बोट चलाउने, अन्य आवश्यक सहजीकरण गरेको छौं, उनले भने। तर, कर्नेल तुम्बाहाम्फे सामान समयमा उपलब्ध नहुँदा एक सातामा गर्न सकिने कामलाई दुई साता लगाउनुपरेको बताउँछन्। ५८ सैनिक जवानसहित दुई वटा बोट सुनकोसीमा चलाइएको थियो।
भौतिक मन्त्रालय अनतरगतको सडक विभागले बेलीब्रिज उपलब्ध गराएको र त्यसलाई सेनाले जडान गरेको हो। असोज २० मा खुर्कोटमा सामान पुगे पनि सम्पूर्ण सामान आवश्यकताअनुसार उपलब्ध नहुँदा सेनाले ब्रिज जडानलाई तिव्रता दिन सक्नु भएको थिएन।
‘फिल्डमा सेना देखिए पनि यसमा सडक कार्यालयको उति नै भूमिका थियो। १६ मध्ये ८ दिन मात्रै काम भएको हो,’ क्यापिटल नेपालसँग कर्नेल तुम्बाहाम्फे भन्छन्, ‘दसैं लागेर होला, असोज २४ बाट पुलको सामान ल्याउने काम रोकियो। हामीले ८ दिन काम गर्न पाएनौं।’
दसैंको बेला सामान अभाव भएर काम रोकिए पनि सेनाको टोली खुर्कोटमै बस्यो। अधिकांश मानिस दसैंमा रमाउँदै गर्दा सेनाको टोली अनवरत रुपमा पुलको काममै व्यस्त रहनु भएको थियो। फरस्वरुप दसैंमा सहज यात्रा गर्न नपाए पनि सर्वसाधारणको तिहार यात्रा सहज हुने भएको छ। असोज २० बाट सुरु भएको ५० मिटर लामो बेलीब्रिज जडानको काम कात्तिक ५ मा सकिएर प्राविधिक परीक्षण सुरु भएको छ।
जनप्रतिनिधको सक्रियता
खुर्कोटको पुल दुई सातामै तयार हुनुमा नेपाली सेनाकाे मात्रै होइन, जनप्रतिनिधिको भूमिका पनि उति नै छ। सामान्यतया सांसद भएपछि काठमाडौंमा बढी देखिने तर, जिल्ला नफर्किने जनप्रतिनिधि यसपालिको विपतमा भने जनताको साथमा पुग्नु भयो।
विशेषगरी रामेछापका प्रतिनिधिसभा सदस्य एवं ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री कान्छाराम तामाङ खुर्कोटको पुल निर्माणमा बढी सक्रिय देखिनु भयो। सडक विभागले हेटौंडामा राखेको बेलीब्रिजको सामान आफैं लिन पुग्नेदेखि खुर्कोटमा काम भइरहँदा पनि उहाँ उतिकै सक्रिय हुनुहुन्थ्यो।
हुन त, काठमाडौं–रामेछाप यात्रा गर्ने कान्छारामलाई मत दिएर पठाएका जनताका लागि महत्वपूर्ण रहेको खुर्कोट पुल पुनःनिर्माणमा राज्यमन्त्री तामाङको सक्रियता बढी हुनु स्वाभाविकै थियो। आफ्नो जिल्लाबासीले पुल विच्छेदपछि भोगेको समस्या समाधानमा फिल्डमै सेनासँग राज्यमन्त्री उत्रिएका थिए।
त्यसबाहेक गृहमन्त्री रमेश लेखक, भौतिक मन्त्री देवेनद्र दाहाल, सिन्धुलीका सांसद्वय राजन दाहाल र श्याम घिमिरे, ओखलढुंगाका सांसद रामहरि खतिवडा, सांसद मोहन बहादुर बस्नेतलगायत प्रदेश र स्थानीय सरकारका जनप्रतिनिधि पनि खुर्कोटमा बेलीब्रिज जडान गर्न लागिपर्नुभएको थियो।
मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया दिनुहोस