कांग्रेसको आकस्मिक बैठक : पूर्वसभामुख ढुंगानाको निधनप्रति केन्द्रित
काठमाडौं/३मंसिर,नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको आज बसेको आकस्मिक बैठकले पूर्वसभामुख दमननाथ ढुंगानाको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको छ ।
पूर्वसभामुख ढुंगानाको ८३ वर्षको उमेरमा आइतबार भएको निधनले कांग्रेस मर्माहत र स्तब्ध भएको निर्णयमा उल्लेख गरिएको छ । नेपालमा लोकतान्त्रिक व्यवस्था र गणतन्त्र स्थापनाका लागि भएका आन्दोलनमा सक्रिय भूमिका निर्वाह गरेका ढुंगाना विसं २०४८ को आमनिर्वाचनमा कांग्रेसका तर्फबाट काठमाडौं निर्वाचन क्षेत्र नं २ बाट विजयी भई २०५१ सम्म प्रतिनिधिसभाको सभामुख थिए ।
यसैगरी उनी विसं २०५१ मा काठमाडौं निर्वाचन क्षेत्र नं २ र २०७४ मा भक्तपुर निर्वाचन क्षेत्र नं २ बाट कांग्रेसको उम्मेदवार थिए । नेपाली कांग्रेसका विभिन्न पदमा रहेर उनले पार्टीको संगठन निर्माणमा सक्रिय भूमिका निर्वाह गरेका थिए ।
माओवादी सशस्त्र द्वन्द्वलाई शान्ति प्रक्रियामा ल्याउन सहजकर्ताको रूपमा समेत उनले सक्रिय भूमिका निर्वाह गरेका थिए । मानव अधिकार, न्याय क्षेत्र र लोकतान्त्रिक व्यवस्थाको सुदृढीकरणका लागि ढुंगानाले पुर्याएको योगदान सदैव स्मरणीय रहने बैठकपछि कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जारी गरेको वक्तव्यमा उल्लेख छ । उनको निधनबाट सिंगो देशले वरिष्ठ कानुनविद्, मानव अधिकारकर्मी, एक अथक योद्धा, निष्ठावान एवं अनुभवी राजनीतिज्ञ गुमाएको छ ।
पूर्वसभामुख ढुंगानाको निधनप्रति केन्द्रीय कार्यसमिति बैठकले गहिरो दुःख व्यक्त गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेको छ । दिवंगत आत्माको चिरशान्तिको कामनाका साथ शोक सन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गरेको छ ।
स्वर्गीय ढुंगानाप्रति सम्मान प्रकट गर्दै कांग्रेसले आज र भोलि दुई दिनसम्म पार्टीको केन्द्रीय कार्यालयमा झण्डा आधा झुकाउने भएको छ । मङ्सिर ४ गते मंगलबारका दिन केन्द्रीय कार्यालय बन्द गर्ने, स्वर्गारोहणको १३औँ दिनमा केन्द्रमा शोकसभाको आयोजना गर्ने निर्णय पनि गरिएको छ ।
मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
धेरै पढिएका खबर
- १ काठमाडौंमा मोबाइल छापप्रति जनलहर बढदो, खुल्यो खगेश रञ्जिकारको सम्पर्क कार्यालय
- २ पर्वतमा रास्वपाका सागर भुसाल विजयी
- ३ बालेनले बुझाए चुनावमा १४ लाख १७ हजार रुपैयाँ खर्च भएको विवरण
- ४ काठमाडौं–१ मा रञ्जु न्यौपाने विजयी, १५ हजार ४५५ मत प्राप्त
- ५ समृद्धि र विकासका लागि मोवाइलमा मतदान गर्न रुपन्देही–१ का उम्मेदवार बदरु दोजा फकिरको अपिल
- ६ म्याग्दीमा महावीर पुन विजयी
- ७ काठमाडौं–८ का उम्मेदवार खगेश रञ्जितको घरदैलो कार्यक्रम तिब्र

तपाईको प्रतिक्रिया दिनुहोस