निर्वाचन ‘देश बनाउने र जलाउने’ शक्तिबीचको संघर्ष : ओली
झापा । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनलाई ‘देश बनाउने र देश जलाउने’ शक्तिहरूबीचको लडाइँको रूपमा चित्रण गरेका छन् ।
झापामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले देशको सार्वभौमसत्ता, विकास र समृद्धिका लागि एमालेले जित्नैपर्ने दाबी गरे । आफ्ना पुराना राजनीतिक सहयात्रीहरू माननीय हरिवंश सिवाकोटी र डा. केआर खम्बु लगायतका पुराना नेताहरूको योगदानको स्मरण गर्दै ओलीले एमाले ५०–६० वर्षदेखि निरन्तर आन्दोलनमा रहेको र देशको भविष्य यसै पार्टीसँग सुरक्षित रहेको बताए ।
अध्यक्ष ओलीले निर्वाचन रोक्ने र बिथोल्ने प्रयासहरू भइरहेको भन्दै आपत्ति जनाए । ‘अहिले पनि निर्वाचन रोक्ने प्रयास भइरहेका छन्, तर हामी नअल्मलीकन विजयको तयारीमा लाग्छौं ।’ उनले भने । विपक्षी दलहरूले एमालेको झण्डा जलाउने र अवाञ्छित क्रियाकलाप गरेर निर्वाचनको वातावरण बिगार्न खोजेको आरोप लगाउँदै उनले झण्डाको अपमान गर्नु निर्वाचन विरुद्धको अपराध भएको बताए ।
आफ्नो नेतृत्वको सरकारले गरेका कामहरूको फेहरिस्त प्रस्तुत गर्दै ओलीले एमाले मात्रै चुनाव जित्ने हक राख्ने पार्टी भएको दाबी गरे । उनले हुलाकी राजमार्गको निर्माण, ज्येष्ठ नागरिक भत्ता ४ हजार पुर्याएको, साक्षरता प्रतिशतमा वृद्धि, र एकैपटक ३९६ वटा आधारभूत अस्पतालको शिलान्यास गरेको स्मरण गराए ।
‘हिजो हुलाकी बाटोमा चप्पल टाउकोमा बोकेर हिँड्नुपथ्र्यो, आज त्यहाँ आधुनिक सडक बनेका छन् ।’ उनले भने, ‘बाल मृत्युदर र सुत्केरी मृत्युदर घटाउन हामीले दुर्गमबाट हेलिकप्टरमा उद्धार गर्ने व्यवस्था सुरु गर्यौं ।’
व्यक्तिगत निष्ठा र राष्ट्रियताको रक्षा
आफूमाथि भइरहेका प्रहारहरूको जवाफ दिँदै अध्यक्ष ओलीले देशको माया गरेको र भ्रष्टाचार नगरेकै कारण आफू निशानामा परेको बताए ।
‘मैले ६० वर्षको राजनीतिक जीवनमा कहिल्यै भ्रष्टाचार गरिनँ र गर्ने पनि छैन ।’ उनले दृढता व्यक्त गरे, ‘मिचिएको भूभाग फिर्ता ल्याउन थालेको र उत्तरतर्फका नाकाहरू खोलेका कारण ममाथि प्रहार भइरहेको छ ।’
उनले नेपाललाई जात, धर्म र भूगोलका नाममा विभाजित गर्न खोज्ने तत्वहरू विरुद्ध आफू ढाल बनेर उभिएको बताए । एमाले कसैको कठपुतली नभएको र देशको एक इन्च जमिन पनि तलमाथि हुन नदिने उनको उद्घोष थियो ।
ओलीले क्षेत्र नम्बर ३ का उम्मेदवार हरिबहादुर राजवंशीको पक्षमा मतदान गर्न मतदाताहरूलाई विशेष आग्रह गरे । सूर्य चिन्हको धार्मिक र सांस्कृतिक महत्व दर्शाउँदै उनले भने, ‘सूर्यले जगतलाई उज्यालो, जीवन र न्यानो दिन्छ । त्यही सूर्य बोकेर हरिबहादुर आउनुभएको छ ।’ उनले हरिबहादुर राजवंशी एक्लो नभई उनको पछाडि एमालेको ‘जिम्मा जमानी’ रहेको बताए । ‘गलत ठाउँमा छाप पर्दा देश बिग्रिन्छ, देश बनाउने हो भने सूर्य चिन्हमा मतदान गर्नुहोस् ।’ उनले अपिल गरे ।
कार्यक्रममा एमाले प्रवेश गरेका युवाहरूलाई स्वागत गर्दै ओलीले पार्टी छोडेर गएकाहरूलाई पनि फर्कन आग्रह गरे । केही महिना काम गरेर पद खोज्ने प्रवृत्तिप्रति कटाक्ष गर्दै उनले भने, ‘यो आन्दोलन व्यक्तिगत लाभका लागि होइन, देशलाई के दिने भन्ने सोचेर लाग्ने हो ।’
मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
धेरै पढिएका खबर
- १ स्पेनलाई रोक्दै केप भेर्डेको ऐतिहासिक सफलता, गोलरक्षक भोजिन्हाको भावुक प्रतिक्रिया
- २ पूर्व राष्ट्रिय गोलकिपर विशाल श्रेष्ठ राखेप उपाध्यक्ष नियुक्त
- ३ सिन्धु त्रिवेणीघाटको सम्भावना
- ४ फिफा विश्वकप २०२६ आजदेखि सुरु हुँदै
- ५ इरानद्वारा होर्मुज जलमार्ग बन्द गर्ने घोषणा, अमेरिका–इरान तनाव थप चर्कियो
- ६ परराष्ट्रमन्त्री शिशिर खनाल आज चीन भ्रमणमा प्रस्थान गर्दै
- ७ प्रतिनिधिसभाको बैठक आज बस्दै, बजेटमाथि सामान्य छलफल सुरु हुने

तपाईको प्रतिक्रिया दिनुहोस