महिला उद्यमशीलता सम्मेलनमा ८० भन्दा बढी उद्यमीका उत्पादन प्रदर्शनी गरिने
काठमाडौं । नेपाली कांग्रेसले महिला आर्थिक सशक्तीकरण, उद्यमशीलता प्रवद्र्धन तथा नेपालको आर्थिक रूपान्तरणमा महिला उद्यमीको भूमिका थप प्रभावकारी बनाउने उद्देश्यले ‘महिला उद्यमशीलता सम्मेलन २०८३’ आयोजना गर्ने भएको छ।
कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले सोमबार पत्रकार सम्मेलन गरी आगामी भदौ ११ गते ललितपुरको सानेपास्थित नेपाली कांग्रेस केन्द्रीय कार्यालयमा एकदिने सम्मेलन आयोजना गर्न लागिएको जानकारी दिएको हो।
आयोजकका अनुसार सम्मेलनमा १० हजारभन्दा बढी सहभागीले अवलोकन गर्ने अपेक्षा गरिएको छ। सम्मेलनमा विशेषगरी स्टार्टअप, एमएसएमई तथा एसएमई क्षेत्रमा कार्यरत महिला उद्यमीबीच अनुभव आदानप्रदान, लगानी तथा वित्तीय पहुँच, बजार विस्तार, प्रविधिको प्रयोग र व्यावसायिक नेटवर्किङलगायत विषयमा छलफल गरिनेछ।
सम्मेलनसँगै कांग्रेस केन्द्रीय कार्यालय परिसरमा ८० भन्दा बढी महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनीसमेत आयोजना गरिने आयोजकले जनाएको छ। प्रदर्शनीमार्फत महिला उद्यमीले आफ्ना उत्पादन तथा सेवा उपभोक्ता, व्यवसायी, लगानीकर्ता तथा सम्भावित साझेदारसमक्ष प्रत्यक्ष रूपमा प्रस्तुत गर्ने अवसर पाउनेछन्।
सम्मेलनमा बीटुबी तथा बीटुसी नेटवर्कलाई समेत प्राथमिकता दिइनेछ। यसबाट महिला उद्यमीलाई नयाँ ग्राहक, व्यावसायिक साझेदार, लगानीकर्ता तथा बजारसँग जोडिन सहयोग पुग्ने आयोजकको विश्वास छ।
एकदिने सम्मेलनमा महिला उद्यमीले भोगिरहेका चुनौती, सम्भावना र अवसरका विषयमा बहुआयामिक छलफल हुनेछ। महिला उद्यमशीलताको विकासमार्फत रोजगारी सिर्जना, उत्पादन वृद्धि, आयआर्जन, आत्मनिर्भरता तथा समुन्नत समाज निर्माणमा योगदान पुर्याउने विषयमा समेत छलफल गरिने जनाइएको छ।
सम्मेलनमा महिला उद्यमशीलतासँग सम्बन्धित तीनवटा विषयगत प्यानल सञ्चालन गरिनेछन्। ती प्यानलमा व्यवसाय, वित्तीय क्षेत्र, प्रविधि, लगानी, पर्यटन, सूचना प्रविधि तथा निजी क्षेत्रका अनुभवी व्यक्तित्व सहभागी हुनेछन्।
सम्मेलनको विशेष आकर्षणका रूपमा ‘मेरो उद्यमशील यात्रा’ नामक स्टोरी टेलिङ सेसन पनि सञ्चालन गरिनेछ। उक्त सत्रमा सफल महिला उद्यमीले आफ्नो उद्यम यात्रा, संघर्ष, चुनौती, सफलता तथा सिकाइ प्रत्यक्ष रूपमा साझा गर्नेछन्।
त्यस्तै, कार्यक्रममा लगानी, वित्तीय पहुँच तथा सरकारी सेवासम्बन्धी जानकारी केन्द्र सञ्चालन गरिनेछ। केन्द्रमार्फत व्यवसाय दर्ता, वित्तीय पहुँच, लगानी, सरकारी सेवा तथा उद्यम विस्तारका लागि उपलब्ध अवसरबारे महिला उद्यमीलाई जानकारी दिइने आयोजकले जनाएको छ।
सम्मेलनको समापनमा महिला उद्यमशीलतासँग सम्बन्धित प्रमुख सुझाव, प्रतिबद्धता तथा आगामी कार्यदिशालाई समेटेर ‘सानेपा डिक्लियरेसन अन वमन इन्टरपेर्नरसिप’ घोषणा गरिनेछ।
सम्मेलन कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आयोजनामा तथा नेपाल महिला संघको सहकार्यमा हुन लागेको हो। कार्यक्रम बिहान ८ बजेदेखि अपराह्न ६ बजेसम्म सञ्चालन हुनेछ।
मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
धेरै पढिएका खबर
- १ राज्यबाट सिर्जित सुकुम्बासी : आर्थिक, कृषि तथा भूमिनीतिको यथार्थ
- २ नागको पूजाअर्चना गरी आज नागपञ्चमी मनाइँदै
- ३ चिनीको सहज आपूर्तिबारे आज समितिमा छलफल, उद्योगमन्त्री र सचिवलाई बोलाइयो
- ४ ट्रम्पद्वारा इरानसँगको वार्ता रोक्न निर्देशन, सम्झौताका लागि तेहरान तयार हुनुपर्ने अडान
- ५ वाग्मतीका मुख्यमन्त्री बानियाँले दिए राजीनामा
- ६ बाढीपहिरोले देशभरका मुख्य राजमार्ग प्रभावित, विभिन्न सडकखण्ड अवरुद्ध
- ७ धर्नामा बसेकाको स्वास्थ्य र सुरक्षाको व्यवस्था गर्न मानव अधिकार आयोगको आग्रह

तपाईको प्रतिक्रिया दिनुहोस