सूचना प्रविधिमा लगानी बढाउन युवा उद्यमीलाई अर्थमन्त्री वाग्लेको आग्रह
काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सूचना प्रविधि क्षेत्रमा कार्यरत युवा उद्यमीहरूलाई निर्धक्क भएर स्वदेशमै लगानी विस्तार गर्न आग्रह गरेका छन् ।
मंगलबार अर्थ मन्त्रालयमा सूचना प्रविधि क्षेत्रका युवा उद्यमीसँग छलफल गर्दै अर्थमन्त्री वाग्लेले सूचना प्रविधि क्षेत्र सरकारको विशेष प्राथमिकतामा रहेको बताए । उनले यस क्षेत्रमा लगानी बढाउँदै व्यवसाय विस्तार गर्न आग्रह गर्दै सरकार आवश्यक सहयोग गर्न तयार रहेको धारणा राखे ।
‘सूचना प्रविधि क्षेत्र छोटो समयमा ठूलो फड्को मार्न सकिने क्षेत्र हो। तपाईं युवा उद्यमीहरू लगानी बढाउनुहोस्, आफूलाई फैलाउनुहोस्। सरकार तपाईंहरूको साथमा छ,’ उनले भने ।
विगतमा कृषिजन्य वस्तुको उत्पादन तथा निर्यातमा नेपालले लामो समय र ठूलो लगानी गर्नुपरेको उल्लेख गर्दै वाग्लेले सूचना प्रविधि क्षेत्रमा तुलनात्मक रूपमा कम समयमा लगानीको प्रतिफल प्राप्त गर्न सकिने बताए ।
उनका अनुसार सरकारले चालु आर्थिक वर्षको बजेटमा सूचना प्रविधि क्षेत्रलाई विशेष प्राथमिकता दिएको छ । कृत्रिम बौद्धिकता (एआई) को विकासका लागि बजेट विनियोजन गर्नुका साथै सूचना प्रविधिमा कार्यरत युवा उद्यमीलाई प्रोत्साहन गर्ने नीति सरकारले लिएको उनले बताए ।
वाग्लेले सूचना प्रविधि क्षेत्रका समस्या र आवश्यकताबारे सरकारलाई जानकारी गराउन उद्यमीहरूलाई आग्रह गरे । युवालाई विदेशिनबाट रोक्न स्वदेशमै अवसर र उद्यमको वातावरण निर्माण गर्न सरकार प्रतिबद्ध रहेको उनको भनाइ थियो ।
सरकारले विश्वस्तरीय सूचना प्रविधि कम्पनीहरूलाई नेपालमा भित्र्याउन पहल गरिरहेको जानकारी दिँदै उनले नेपाललाई सूचना प्रविधिको भ्यालु चेन विकास हुने हबका रूपमा अघि बढाउने रणनीति रहेको बताए ।
काम गर्ने क्रममा देखिने नीतिगत तथा व्यावहारिक समस्या समाधान गर्दै सूचना प्रविधि क्षेत्रको विकासमा सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेकोमा उनले जोड दिए ।
छलफलमा सहभागी दुई दर्जनभन्दा बढी सूचना प्रविधि क्षेत्रका युवा उद्यमीहरूले सरकारले सूचना प्रविधिलाई प्राथमिकतामा राखेकोमा धन्यवाद व्यक्त गरेका थिए ।
मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
धेरै पढिएका खबर
- १ हिमतालको बढ्दो जोखिम : पूर्वतयारीको आवश्यकता
- २ रसुवा बाढीमा तपाईको आफन्त हराइरहनु भएको छ ? अब khozi.facetagr.com ले सहयोग गर्न सक्छ
- ३ भोटेकोशी बाढीमा ज्यान गुमाउनेको सङ्ख्या ७८८
- ४ ओली र लेखक विरूद्धको जाहेरी प्रहरीले बुझी जाँचबुझ आयोगलाई पठायो
- ५ राज्यबाट सिर्जित सुकुम्बासी : आर्थिक, कृषि तथा भूमिनीतिको यथार्थ
- ६ ट्रम्पद्वारा इरानसँगको वार्ता रोक्न निर्देशन, सम्झौताका लागि तेहरान तयार हुनुपर्ने अडान
- ७ नाडा अटो शो नेपालको आर्थिक रूपान्तरणको मार्गचित्र बन्न सक्छ : उपराष्ट्रपति यादव

तपाईको प्रतिक्रिया दिनुहोस