सुशासन र आर्थिक समृद्धिमा सरकार केन्द्रित : प्रधानमन्त्री वालेन्द्र शाह
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले नेपाली नागरिकको दैनिक जीवनस्तरमा वास्तविक सुधार ल्याउने दिशामा आफ्नो नेतृत्वको सरकार प्रतिबद्ध रहेको बताएका छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मंगलबार काठमाडौँ र नयाँदिल्लीस्थित युरोपेली सङ्घ तथा सदस्य राष्ट्रका राजदूतहरू तथा काठमाडौँस्थित अन्य देशका राजदूतहरूसँग भएको संयुक्त भेटवार्तामा उनले वर्तमान परिस्थितिको गम्भीरता र सरकारलाई प्राप्त जिम्मेवारीप्रति आफू पूर्ण रूपमा सचेत रहेको बताए ।
प्रधानमन्त्री शाहका प्रेस तथा अनुसन्धान विज्ञ दिपा दाहालका अनुसार भेटका क्रममा प्रधानमन्त्रीले हालै सम्पन्न निर्वाचनले सुशासन र समावेशी आर्थिक समृद्धिका पक्षमा स्पष्ट जनादेश दिएको उल्लेख गरे । उनले सरकार परिवर्तन भए पनि नीतिगत निरन्तरता कायम रहने स्पष्ट पार्दै नेपालको नीति स्थिर, स्पष्ट र अनुमानयोग्य रहने बताए ।
“नयाँ हुनु भनेको विगतसँग पूर्ण रूपमा अलग हुनु होइन,” प्रधानमन्त्री शाहको भनाइ उद्धृत गर्दै दाहालले बताइन् । लोकतान्त्रिक मूल्य–मान्यता संरक्षण तथा राजनीतिक स्थिरता कायम गर्न सरकार दृढ रहेको पनि उनले बताए ।
प्रधानमन्त्री शाहले सुशासन, समावेशी आर्थिक वृद्धि र जनमुखी नीतिमार्फत नागरिकका लागि नयाँ अवसर सिर्जना गर्न सरकार केन्द्रित रहेको उल्लेख गरे । उनले लगानी प्रक्रिया थप सहज बनाउने, नवप्रवर्तनलाई प्रोत्साहन गर्ने तथा दिगो विकासका लक्ष्य हासिल गर्न सरकार प्रतिबद्ध रहेको बताए ।
विदेश नीतिका विषयमा उनले नेपालले सन्तुलित र व्यावहारिक नीति अवलम्बन गर्दै छिमेकी मुलुक, विकास साझेदार र मित्र राष्ट्रसँग आपसी सम्मान, सार्वभौम समानता र साझा समृद्धिका आधारमा सम्बन्ध अघि बढाउने स्पष्ट पारे ।
नेपालको विकास र समृद्धिमा सहयोग पुर्याएकोमा विकास साझेदार तथा मित्र राष्ट्रहरूप्रति आभार व्यक्त गर्दै प्रधानमन्त्री शाहले व्यापार, लगानी, हरित ऊर्जा, जलवायु परिवर्तन र पर्यटन क्षेत्रमा सहकार्य विस्तार गर्न नेपाल तयार रहेको बताए ।
विश्वका विभिन्न क्षेत्रमा जारी द्वन्द्वप्रति चिन्ता व्यक्त गर्दै उनले शान्ति स्थापनाका लागि सैन्य भिडन्तभन्दा संवाद, कूटनीति र अन्तर्राष्ट्रिय कानुनलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए ।
भेटका क्रममा युरोपेली सङ्घ तथा अन्य देशका राजदूतहरूले शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न गरेकोमा नेपालको प्रशंसा गरेका थिए । उनीहरूले सुशासन, आर्थिक विकास र समृद्धिको एजेन्डासहित सरकारको नेतृत्व सम्हालेकोमा प्रधानमन्त्री शाहलाई बधाई दिँदै विभिन्न क्षेत्रमा नेपालसँग सहकार्य र लगानी विस्तार गर्न इच्छुक रहेको बताएका थिए ।
मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
धेरै पढिएका खबर
- १ राष्ट्र बैंकद्वारा शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक
- २ स्पेन सेमिफाइनलमा, बेल्जियमलाई २–१ ले पराजित
- ३ मन्त्रिपरिषद्का निर्णय : बीउबिजन नियमावली संशोधनदेखि पदक विजेता खेलाडीलाई नगद पुरस्कारसम्म
- ४ फ्रान्सले मोरक्कोलाई २–० ले हराउँदै लगातार तेस्रो पटक विश्वकप सेमिफाइनलमा स्थान बनायो
- ५ सुन तोलामा २८ सय र चाँदीमा १ सय रुपैयाँ गिरावट
- ६ विदेशमा रहेका नेपाली विज्ञलाई नवप्रवर्तन अभियानमा जोड्न मन्त्री महावीर पुनको आह्वान
- ७ ३ प्रतिशत शिक्षा सेवा शुल्क खारेज गर्न निजी विद्यालयका चार संगठनको माग

तपाईको प्रतिक्रिया दिनुहोस