सुनको मूल्य उच्च भएपछि गहनाप्रतिको मोह घट्यो
कैलाली/२९ असाेज, विगतमा शिरदेखि पाउसम्म सुन चादीका गहना लगाउन मन पराउने महिला आजभोलि चाडपर्व तथा उत्सवमा एकसेट मात्र गहनामा सजिन थालेका छन् । सुनको मूल्य उच्च भएपछि महिलाको गहनाप्रतिको मोह घटेको हो ।
टीकापुरकी विष्णा जैसीका रानीहारदेखि सबैखाले गहना छन् । हरेक वर्ष गरेर १० तोला सुन जोडेकी उहाँले आजभोलि खासै गहना लगाउनुहुँदैन । “विगतमा सबैले लगाउँथे, जसले धेरै गहना लगायो उसको इज्जत बढेको जस्तो लाग्यो”, उहाँले भन्नुभयो, “तर आजभोलि त्यस्तो छैन, गहना भएका र नभएका दिदीबहिनी उस्तै देखिन्छन् ।”
घरमा सुरक्षा नभएर भएका गहना पनि अधिकांश महिलाले बैंकको लकरमा गहना राखेका छन् । अधिकांश महिला बजारमा पाइने नक्कली गहनामा सजिने गरेका छन् । एकपटक लगाएको गहना तथा पहिरन फोटो, भिडियो खिचेर सामाजिक सञ्जालमा हालिसकेपछि पुनःलगाउन लगाउन नचाहेर पनि गहना मोह घटेको हुनसक्ने बताइन्छ ।
जोशीपुरकी सविना श्रेष्ठलाई गहना लगाउन असाध्यै मनपर्छ । हरेक पर्वमा गहनामा सजिन मन पराउने सविनालाई आजभोलि सामाजिक सञ्जालले गाह्रो भएको छ । एकपटक लगाएको गहनाको फोटो खिचिसकेको र फेसबुक, टिकटकमा हालिसकेपछि अर्को पटक लगाउन मन लाग्दैन । “गहना जस्तो कुरा पटकपटक किन्न सकिन्न, सुनको मूल्य डेढ लाख बढी पुगेको छ”, उहाँले भन्नुभयो, “त्यसैले बजारमा पाइने नक्कली गहना किन्यो, लगायो सहज भएको छ ।”
गहना धेरै लगाउँदा सुरक्षा जोखिमसँगै नहुने महिलाले असमानता महसुस गर्छन् । सबै समान देखिएमा समाजमा पनि शान्ति स्थापना हुन्छ । शिक्षक रुपा साउँद गहना सम्पत्ति भए पनि गहनाले सुरक्षा चुनौती बढाउने बताउनुहुन्छ । “गहना धेरै लगाउनु खासै राम्रो पनि होइन, महिलाले सामान्य एकसरो गहना लगाएको राम्रो देखिन्छ, त्यसले अन्यलाई समस्या पनि हुँदैन”, उहाँ भन्नुहुन्छ, “तडकभडक नगरेको राम्रो हो । तर पछिल्लो समय हरेक पर्व नयाँ पहिरन लगाउने चलनले पनि खर्च बढाएको छ । खर्च कसरी कम गर्ने भन्नेबारेमा ध्यान दिनुपर्छ ।”
सुनचाँदी व्यवसायी प्रविण साहु विगतमा जस्तो सुनचादीको कारोबार नरहेको बताउनुहुन्छ । “सुनको मूल्य बढेकाले पनि व्यवसायमा असर परेको छ । अर्कोतर्फ गहना अत्यावश्यक भएकाले मात्र लगाउने गर्नाले मर्मतको काम पनि घटेको छ”, उहाँले भन्नुभयो, “सुनचाँदी व्यवसायमा ५० प्रतिशत गिरावट आएको छ ।”
मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
धेरै पढिएका खबर
- १ खोलाको मापदण्ड पालना नगरी निजी जग्गामा सडक निर्माण गरिएको भन्दै अख्तियारमा उजुरी
- २ भव्यताकासाथ मनाइयो राष्ट्रिय विभूति वडाकाजी अमरसिंह थापाको २१०औँ स्मृति दिवस
- ३ कप्तानगञ्जसहित तराईका जिल्लामा देखिएको तनावप्रति उद्योग वाणिज्य महासंघको चिन्ता, शान्ति कायम गर्न आग्रह
- ४ त्रिभुवन विश्वविद्यालयको कार्यकारी परिषद्ले पायो पूर्णता, चार सदस्य नियुक्त
- ५ सामाजिक सद्भाव जोगाऔँ, विभाजनको राजनीति असफल बनाऔँ
- ६ राष्ट्रपतिद्वारा प्रधानमन्त्री शाहलाई शान्ति, सद्भाव र संयम कायम गर्न आग्रह
- ७ संघीय संसदका तीन समितिको आज बैठक, चिकित्सा शिक्षा ऐन कार्यान्वयनदेखि वार्षिक कार्ययोजनासम्म छलफल

तपाईको प्रतिक्रिया दिनुहोस