प्रधानमन्त्री उद्धार कोषका लागि आइएमइ ग्रुप, एमाले पार्टी र नेपाल निर्माण व्यवसायी विकास परिषदद्वारा चेक हस्तान्तरण
काठमाडौँ/२० असोज, प्रधानमन्त्री उद्धार कोषका लागि आइएमइ ग्रुप, एमाले पार्टी र नेपाल निर्माण व्यवसायी विकास परिषदद्वारा चेक हस्तान्तरण भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका लागि ग्लोबल आइएमइ बैँक, आइएमइ ग्रुप र आबद्ध कम्पनीका तर्फबाट रु पाँच करोड रकमको चेक हस्तान्तरण भएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले सो चेक हस्तान्तरण गर्नुभएको हो । उक्त रकम हालैको बाढी, पहिरो र विपदपछि सञ्चालित उद्धार कोषमा सहयोग भएको मध्ये सबैभन्दा बढी रकम हो ।
अन्य सहयोग
यसैगरी आजै नेपाल इन्स्योरेन्सका तर्फबाट अध्यक्ष लक्ष्मण पौडेलले रु ५० लाख, एनएमबी बैँकका अध्यक्ष मनोज गोयलले रु ५१ लाख र मेटलाइफ इन्स्योरेन्सका उपाध्यक्ष निर्मलकाजी श्रेष्ठले रु २५ लाख हस्तान्तरण गर्नुभयो । उक्त रकमसहित आजका मिति प्रधानमन्त्री ओलीसमक्ष कोषका लागि हस्तान्तरण भएको रकम रु १० करोड २६ लाख भएको छ ।
सहयोग गर्ने सबै संस्थाहरुलाई प्रधानमन्त्री ओलीले धन्यवाद दिँदै सङ्कटका समयमा मिलेको साथ अमूल्य हुने बताउनुभयो ।
त्यस्तै, नेकपा (एमाले) ले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका लागि आज रु ५० लाख हस्तान्तरण गरेको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा प्रधानमन्त्री ओलीलाई भेटेर एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलसहितको टोलीले उक्त चेक हस्तान्तरण गर्नुभएको हो ।
सो अवसरमा प्रधानमन्त्री ओलीले साझा दायित्व सम्झिएर विपदको सामना गर्नुपर्ने र यसको अगुवाइ सरकारले गर्ने बताउनुभयो । उहाँले तीनै तहका सरकार र राज्यका निकाय परिचालित भएर विपद्को सामना भइरहेको स्पष्ट गर्नुभयो ।
एमालेको यही असोज १५ गतेको सचिवालय तथा संसदीय दलको बैठकले उक्त कोषमा रु पचास लाख र सांसदहरुको आधा महिनाको तलब बराबरको रकम बेग्लै प्रदान गर्ने निर्णय गरेको थियो ।
नेपाल निर्माण व्यवसायी विकास परिषद्ले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका लागि आज रु एक करोडको चेक हस्तान्तरण गरेको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा परिषद्का अध्यक्ष एवं भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री देवेन्द्र दाहालले सो रकम हस्तान्तरण गर्नुभएको हो।
गृहमन्त्री रमेश लेखक, भौतिक पूर्वाधार मन्त्रालयका सचिव केशवकुमार शर्मा, नेपाल निर्माण व्यवसायी महासङ्घका अध्यक्ष रवि सिंहलगायत सहभागी सो अवसरमा विकास निर्माणका काम र विद्यमान कानुनी एवं अभ्यासमा देखिएका समस्या फुकाउने विषयमा समेत छलफल भएको थियो । प्रधानमन्त्री ओलीले समस्याबारे पटक पटक छलफल हुने तर समस्या यथावत् रहने अवस्था अन्त्य गर्न निर्देशन दिनुभयो ।
मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
धेरै पढिएका खबर
- १ विजुली बत्ती जान थालेपछि यसको समाधान गर्न शाक्यले निर्देशन दिए
- २ धमाधम छापिँदैछ नमुना मतपत्र
- ३ The Eternal Lure of Gold: From Sacred Metal to Geopolitical Weapon
- ४ तराईमा हुस्सु,कुहिरो ,पहाडी भागमा पनि चिसो बढ्यो
- ५ कांग्रेस विशेष महाधिवेशन आजबाट सुरू हुँदै
- ६ राज्य एकीकरणमा पूर्वजहरुको योगदान महत्त्वपूर्ण रहेको छ : राष्ट्रपति पौडेल
- ७ प्रचण्ड रुकुमपश्चिमबाट चुनाव लड्ने

तपाईको प्रतिक्रिया दिनुहोस