न्यकू जात्रा मतयाः भाद्र पाँच गते लाेकाकिर्ति महाविहार नकबहिलमा
ललितपुर/ ३२ साउन : यस वर्षकाे न्यकू जात्रा मतयाः भाद्र पाँच गते लाेकाकिर्ति महाविहार नकबहिलमा हुने भएको छ । पाटनकाे पाैराणिक, ऐतिहासिक याे मतया: सञ्चालन गर्ने मूल समारोह समितिकाे क्षेत्र नं. १ नकबहिलले आज यहाँ पत्रकार सम्मेलन आयाेजना गरी यस वर्षकाे न्यकू जात्रा मतया:को बारेमा जानकारी गराएकाे हाे ।
१४ सय वर्षदेखि सञ्चालनमा रहेकाे याे न्यकू जात्रा मतयाः मृत्युु भएका आफन्तहरुकाे आत्मशान्ति, राम्रो स्थानमा बास हाेस् भनेर याे जात्रा मनाइने गरिएको आयाेजक समितिका महासचिव आशारत्न शाक्यले जानकारी दिनुभयाे ।
नेपाल सम्वत अनुसार दशौं महिना गुंलाभरी विभिन्न बौद्ध धार्मिक परम्पराहरु संचालन हुने गरेको छ, जसमध्ये करिब ८५० बर्ष अघि लिच्छिवी राजा बालार्चन देवले जेष्ठवर्ण महाविहार तंगबहाः स्थापना गरेको उपलक्ष्यमा ललितपुर नगरमा थालेको मतयाः अर्थात दीपयात्रा परम्परा यस बर्ष भाद्र ५ गते बुधवार परेकाे छ।” उहाँले भन्नुभयो ।
मतयाःकाे विहान सबेरै (४ बजे) श्रद्धालु भक्तजनहरु नकबहिलमा भेला भइ ललितपुर नगरको चार दिशामा रहेको चार वटा थूर (अशोक स्तुप) परिक्रमाको क्रमलाई आधार बनाई दिनभर गल्लीगल्ली चोकचोकमा समेत प्रवेश गरी बौद्धिक धार्मिक स्थलहरु देवालय, चैत्यालय, धर्मधातु, बागीश्वर परिक्रमा (लगभग १२ घण्टा) गरिने परम्परा रहेकाे उहाँले जानकारी गराउनुभयाे ।
करिब २००० देवी देवतालाई धूप, दियो, कपुर, पैसा, मिठाई लगायत सामग्री चढाउँदै सम्पन्न गरिने यस यात्राका पथ प्रदर्शन बज्राचार्य पुरोहित रहने गरेको छ भने सहभागीको अन्तमा आयोजक क्षेत्रको त्वाःम्वः (टोलका नाइके) ले निस्ला (पिण्डपात्रमा चामल, पैसा) तथा निस्लापाः (चिउरा, अदुवा, मिठाई) चढाउने परम्परा छ । सहभागीहरुको मध्यमा महादेवको उपस्थिति रहने परम्परा रहेकाे पत्रकार सम्मेलनमा जानकारी गराइएको छ।
कुम्भेश्वरमा नवबाजा बजाइ प्रारम्भ हुने मतयाः बौद्धकथामा आधारित भएपनि शिव र शिवगणको अनिवार्य उपस्थिति रहेको प्रचारप्रसार समितिका संयाेजक सुरजवीर बज्राचार्यले जानकारी गराउनुभयाे ।
विशेषतः परिवारजनको मृत्युबाट शोकमा परेकाको सहभागिता रहने यस यात्रामा जो कोही पनि श्रद्धा सहभागी हुन सक्छन् । आयोजना तथा सहभागिताको दृष्टिकोणले समावेशी यो पर्वलाई कूशल एवं अनुपम संस्कृति मान्ने गरिन्छ ।” बज्राचार्यले भन्नुभयो, “भगवान बुद्धको ध्यान भङ्ग गर्न आएका स्कन्धमार, मृत्युमार, देवपुत्रमार, क्लेशमार, अभिसंस्कारमारलाई जिती बुद्धत्व प्राप्त गरेपछि ती मारहरु भगवान बुद्धकै शरणमा गएको गाईजात्राको दिनको भोलीपल्ट शरणस्वरुप श्रद्धाभावले गरिने यस यात्रा परम्परामा अजिव भेषभूषा एवं शैलीमा ख्यालः अर्थात हास्य ब्यङ्गात्मक गीत, नृत्य तथा नाटिका प्रस्तुत गर्दै सहभागी हुने समूहहरु पनि हुन्छन् भने टोलटोलबाट बाजागाजा सहित समूहहरुको सहभागिता पनि रहन्छ ।”
बज्राचार्यका अनुसार वाद्यवादन यस परम्पराको अर्को विशेषता हो । वाजा एवं वादन शैलीको अनुपम नमूना नवबाजा (धिमे, नाय्खिं, क्वँचाखिं, मगःखिं, नगरा, ढोलक, मृदङ्ग, झाँक्री बाजा, जोरानगरा, दह ब्याबाजा, खँजरी, दबदत, धाः, दमोखिं, नेकू, तिक्ली तथा पय्ताखिं) बाजा बजाउने गरिन्छ । यी बाजाहरु मध्ये धाः, न्यकू, दमोखिं, प्रमुख हुन् भने नेकू अर्थात सिङको फुकेर बजाउने बाजाकै नामबाट यस जात्रालाई न्यकू जात्रा अर्थात श्रृंगभेरी जात्रा भन्ने गरिएको हो ।
करिब ४०० बर्ष अघि भने मल्ल राजा सिद्धिनरसिँह मल्लले देशमा छाएको माहामारी तथा हाहाकार अन्त्य गर्न राजगुृरु बौद्ध बज्राचार्यहरुसँग सल्लाह गरी १० वटा टोलहरुले पालैपालो संचालन जिम्मेवारीसहित नवबाजा बजाएर नगर परिक्रमाको चलनसहित थप ब्यवस्थित गरेकाे बज्राचार्यले जानकारी गराउनुभयाे ।
शशिपटनका रानी सुलक्षणाले आफ्नो पति राजा सिंहकेतु मृत्युपश्चात् राँगोको रूपमा जन्मिएको तथा सो अवधिमा रानी सुलक्षणा सोही घरमा ब्राम्हण पुत्रीका जन्मिएकी थिइन्। उनले आफ्नो पूर्वजन्मको पति नै यो जन्ममा राँगोको रुपमा जन्मिएको थाहा पाइन् । पछि राँगोको मृत्यु पश्चात दुई वटा सिङमध्ये एउटा नदी किनारमा गाडेर सो स्थानमा चैत्य निर्माण गरेको तथा अर्को सिङको बाजा बनाई सो बाजा (फुकेर) बजाउँदै चैत्य परिक्रमा गरेको उल्लेख छ । केही समय पश्चात उनकी पति सिँहकेतु राजा धर्मशिलाका नामले प्रकट भएको मानिन्छ भन्ने कथन रहेको बज्राचार्यले जानकारी गराउनुभयाे।
वडा नं. १६ का अध्यक्ष निर्मलरत्न शाक्यले याे गाैरबकाे पर्व भएपनि सञ्चालनका लागि अत्यन्तै चुनाैतीपूर्ण वताउनुभयाे। “याे पर्व सञ्चालनका लागि गत वर्ष महानगरले पचास लाखकाे अक्षयकोष व्यवस्था गरेको भएपनि त्याे पर्याप्त छैन, व्याज चार/पाँच लाख मात्रै आउँछ, तर मतया: सञ्चालनका लागि २५ लाख भन्दा बढि लाग्छ। यस वर्ष थप आर्थिक सहयोग वडा नं. १६ ले गर्नेछ।” उहाँले भन्नुभयो ।
मतया: सञ्चालन समितिका अध्यक्ष ऋद्धिमान श्रेष्ठले न्यकू जात्रा अन्तर्गत भाद्र २ गते, आइतबार साँझ ६ बजे कुम्भेश्वरमा नवबाजा प्रस्तुति हुने जानकारी गराउनुभयाे। ” साउन २० गते आइतबारदेखि नै नबबाजा प्रदर्शन सुरु भइसकेको छ, भाद्र २ गते, आइतबार साँझ ६ बजे कुम्भेश्वरमा नवबाजा प्रस्तुति, भाद्र ५ गते बुधवार विहान ४ बजे नकबहिलबाट मतयाः (दीपयात्रा) हुनेछ, विहान ११ बजे नकबहिलमा पूधाः प्रस्तुति, दिउँसो १ बजे पाटन दरवारमा नवबाजा प्रस्तुति हुनेछ।” उहाँले भन्नुभयो ।
मतया:का अवसरमा भाद्र ६ र ७ गते विहिबार विहान ११ बजे नकबहिलमा भेला भएर नवबाजा प्रस्तुति हुने भाद्र ७ गते शुक्रवार नवबाजा प्रस्तुति हुने उहाँले जानकारी गराउनुभयाे ।भाद्र ८ गते, शनिबार दिउँसो १२ बजे नकबहिलमा भेला भएर गणेश पूजा गरि पालो हस्तान्तरण तथा पुरस्कार वितरण हुने उहाँले जानकारी गराउनुभयाे ।
मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
धेरै पढिएका खबर
- १ विजुली बत्ती जान थालेपछि यसको समाधान गर्न शाक्यले निर्देशन दिए
- २ धमाधम छापिँदैछ नमुना मतपत्र
- ३ The Eternal Lure of Gold: From Sacred Metal to Geopolitical Weapon
- ४ तराईमा हुस्सु,कुहिरो ,पहाडी भागमा पनि चिसो बढ्यो
- ५ कांग्रेस विशेष महाधिवेशन आजबाट सुरू हुँदै
- ६ राज्य एकीकरणमा पूर्वजहरुको योगदान महत्त्वपूर्ण रहेको छ : राष्ट्रपति पौडेल
- ७ प्रचण्ड रुकुमपश्चिमबाट चुनाव लड्ने

तपाईको प्रतिक्रिया दिनुहोस