डेङ्गु सङ्क्रमण हुँदैमा नआत्तिन चिकित्सकहरुकाे आग्रह
काठमाडौं/ २८ असाेज, चिकित्सकहरुले डेङ्गु सङ्क्रमण हुँदैमा नआत्तिन आग्रह गरेका छन् । अधिकांश सङ्क्रमित सामान्य उपचार र हेरचाहबाट निको हुने भन्दै उहाँहरूले दीर्घरोगी, गर्भवती र बालबालिकामा सङ्क्रमण जटिल बन्नसक्ने औँल्याउनुभयो ।
धवलागिरि अस्पतालका प्रमुख चिकित्सक रविरञ्जन प्रधानले डेङ्गु सङ्क्रमणपछि बान्ता भइरहने, नाकबाट रगत आउने, कालो दिसा हुने, थकान जस्ता लक्षण देखिएमा भने चिकित्सकको विशेष निगरानीमा उपचार गर्नुपर्ने बताउनुभयो ।
“डेङ्गु सङ्क्रमण हुँदैमा आत्तिहाल्नुपर्दैन, डेङ्गुले शरीरमा प्लेटलेट्स मात्रा घटाउन सक्छ, यस्तो अवस्थामा विशेष ध्यान दिनुपर्छ”, उहाँले भन्नुभयो, “प्रशस्त आराम गर्ने, पानीलगायत झोलिलो पदार्थ पिउने र जथाभावी औषधि सेवन गर्नु हुँदैन ।” कतिपयमा डेङ्गीले जटिलता ल्याउन सक्ने भन्दै सामान्य रोग हो भन्ने सोचेर लापरबाही गरेमा ज्यानै जोखिममा पर्ने उहाँको भनाइ छ ।
डेङ्गुबाट बच्ने उत्तम उपाय लामखुट्टेको टोकाइबाट बच्नु रहेको प्रमुख चिकित्सक प्रधानले बताउनुभयो । डेङ्गु सार्ने ‘एडिस एजिप्टाइ’ जातको पोथी लामखुट्टे जमेको सफा पानीमा बस्ने हुँदा घर, कार्यालय र सार्वजनिकस्थलमा पानी जम्न दिन नहुने उहाँले बताउनुभयो ।
डेङ्गुको फाइरस फैलाउने लामखुट्टे खाल्डाखुल्डी, पुराना टायर, भाँडाकुँडा, ड्रम आदिमा जम्मा भएको सफा पानीमा बस्ने हुँदा तिनलाई खाली गनुपर्ने प्रमुख चिकित्सक प्रधानले बताउनुभयो ।
गण्डकी प्रदेशका कास्की, तनहुँलगायतका जिल्लामा गत असारयता डेङ्गु सङ्क्रमण बढ्दै गएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयको तथ्याङ्कअनुसार हालसम्म गण्डकीका ११ वटै जिल्लामा गरी १२ हजारबढीमा डेङ्गुको संक्रमण पुष्टि भएको छ । डेङ्गुबाट कास्कीमा पाँच, म्याग्दीमा एक र तनहँमा एक जनाको मृत्यु भएको छ । स्वास्थ्य कार्यालय कास्कीका प्रमुख रामबहादुर नेपालीका अनुसार असारदेखि कात्तिकसम् डेङ्गुको संक्रमण बढी फैलने गर्छ ।
उहाँले पछिल्लो समय प्रदेश राजधानी पोखरामा डेङ्गु तीव्र रूपमा फैलिएको बताउनुभयो । डेङ्गु रोकथाम र नियन्त्रणका लागि सबै पक्ष सचेत र जिम्मेवार हुनुपर्ने प्रमुख नेपालीको भनाइ छ । यस रोगबाट बच्न लामखुट्टको टोकाइबाट बच्नु सबैभन्दा उत्तम उपाय भएको प्रमुख नेपालीले बताउनुभयो ।
चार प्रकारको भाइरसबाट मानिसमा डेङ्गु सङ्क्रमण हुने गरेको उहाँले बताउनुभयो । डेङ्गुको सङ्क्रमणपछि एक्कासी उच्च ज्वरो आउने, रक्तस्राव हुने, टाउको, शरीर दुख्नेजस्ता लक्षण देखा पर्ने गरेको उहाँको भनाइ छ ।
मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
धेरै पढिएका खबर
- १ सिन्धु त्रिवेणीघाटको सम्भावना
- २ कुशल भुर्तेलको लगातार दोस्रो शतक, मलेसियाविरुद्ध ५४ बलमै १२६ रनको विस्फोटक इनिङ्स
- ३ सीपबाट आत्मनिर्भरता तर्फ डोहोर्याउन दक्षिणकालीमा २० दिने क्रिस्टल तथा पोतेका सामाग्री बनाउने तालिम सम्पन
- ४ स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न परिषद्, अस्पताल र बीमा बोर्डका रिक्त पदमा आवेदन आह्वान
- ५ भारतले बंगलादेशलाई ३–१ ले हराउँदै साफ महिला च्याम्पियनसिपको उपाधि जित्यो
- ६ रोकिएका आर्थिक सुधार अघि बढाइँदै, अलपत्र आयोजना टुंग्याउने सरकारको प्रतिबद्धता : अर्थमन्त्री वाग्ले
- ७ राष्ट्र बैंकद्वारा विदेशी मुद्राको विनिमयदर सार्वजनिक, अमेरिकी डलर १५२ रुपैयाँ २२ पैसा बिक्रीदर

तपाईको प्रतिक्रिया दिनुहोस