जेनजी आन्दोलनको इतिहास कसैले फेर्न सक्दैन : गृहमन्त्री गुरुङ
काठमाडौं । गृहमन्त्री सुधन गुरुङले जेनजी आन्दोलनका शहीद तथा घाइते परिवारले सरकारसँग ठूलो आशा राखेको भन्दै आफूहरूमाथि गरिएको विश्वासलाई निराशामा परिणत हुन नदिने प्रतिबद्धता व्यक्त गरेका छन् ।
मंगलबार जेनजी शहीद परिवार कल्याणकारी समाज र घाइते जेनजी नेपालको संयुक्त आयोजनामा भएको जेनजी स्मृति दिवस कार्यक्रममा बोल्दै गृहमन्त्री गुरुङले आन्दोलनका क्रममा घाइते तथा शहीद भएका युवाहरूको सम्झना अझै पनि आफूलाई भावुक बनाउने बताए ।
उनले आन्दोलनका क्रममा घाइते युवालाई रगताम्य अवस्थामा अस्पताल पुर्याएको र शहीदहरूको शव काँधमा बोकेर पशुपति लैजाँदाको क्षण अझै स्मरणमा रहेको बताए ।
‘आज ताली चाहिएको छैन, आज हामीलाई आशा चाहिएको छ,’ उनले भने, ‘गत भदौ २३ गते हामी जसरी मिलेर आन्दोलनमा सहभागी भयौँ, त्यतिबेला रगतले लतपत भएका भाइबहिनीहरूलाई अस्पताल पुर्याएको स्मरण अझै ताजा छ । शहीदहरूलाई काँधमा बोकेर पशुपति लैजाँदाको सम्झनाले अहिले पनि काँध भारी हुन्छ।’
गुरुङले घाइते जेनजी युवाहरूले सरकारबाट ठूलो अपेक्षा राखेको उल्लेख गर्दै उनीहरूको विश्वास पूरा गर्न आफूलाई निरन्तर दबाब महसुस हुने बताए ।
‘भाइहरू आशाका साथ मकहाँ आउनुहुन्छ । कोही हातविना, कोही खुट्टाविना आउनुहुन्छ । देशमा केही हुन्छ, हाम्रै मन्त्री छन् भनेर जसरी मलाई हेर्नुहुन्छ, त्यसले मलाई सुत्न पनि डर लाग्छ,’ उनले भने, ‘कतै मेरो कमजोरीले केही कमी नहोस्, एक सय दिनुपर्ने ठाउँमा ९९ मात्रै नहोस् भन्ने डर लाग्छ । उहाँहरूले जसरी विश्वास गर्नुभएको छ, त्यसलाई पूरा गर्न आफूले सक्ने हरसम्भव प्रयास गरिरहेको छु । म मात्र होइन, नेपाल सरकार नै निरन्तर लागिरहेको छ।’
उनले वर्तमान राजनीतिक परिवर्तन र देशले प्राप्त गरेको निकासको श्रेय जेनजी आन्दोलनका शहीद, घाइते तथा आन्दोलनमा सहभागी युवाहरूलाई नै जाने दाबी गरे ।
गृहमन्त्री गुरुङले जेनजी आन्दोलनलाई पुराना दलका नेताहरूले विभिन्न ढंगले व्याख्या गरिरहेकोप्रति असन्तुष्टि जनाउँदै आन्दोलनको इतिहास परिवर्तन गर्न कसैले नसक्ने बताए ।
‘अचम्म लाग्छ, पुराना दलका साथीहरूले आन्दोलनलाई विभिन्न तरिकाले व्याख्या गरिरहनुभएको छ । म उहाँहरू सबैलाई भन्न चाहन्छु– त्यो इतिहास हो र इतिहास कसैले फेरेर फेरिँदैन,’ उनले भने, ‘इतिहास फेर्ने कोसिस पनि नगर्नुस्।’
मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
धेरै पढिएका खबर
- १ नेपाली कांग्रेसको १५औँ महाधिवेशन : २२ वर्षका युवा महत महाधिवेशन प्रतिनिधिमा निर्वाचित
- २ मेलम्चीमा नेपाली कांग्रेसको १५औँ महाधिवेशन तयारीका लागि सम्पर्क कार्यालय उद्घाटन
- ३ प्रतिनिधिसभाको बैठक आज बस्दै, विभिन्न विधेयक कार्यसूचीमा
- ४ सामुदायिक योग समूह गाईजात्रा (इन्द्रजात्रा) विशेष कार्यक्रम मनाइयो
- ५ म्याग्दीमा पहिरोमा परी ६ जनाको मृत्यु, ३ जना बेपत्ता
- ६ रसुवा बाढीको बीमा दाबी २० अर्ब ९८ करोड, छिटो भुक्तानीका लागि संक्षिप्त कार्यविधि लागू
- ७ आज देशभर वर्षाको सम्भावना, लुम्बिनी र सुदूरपश्चिममा अति भारी वर्षाको चेतावनी

तपाईको प्रतिक्रिया दिनुहोस