Techie IT
  • The Film Nepal
  • २०८३ आश्विन २२ बिहीबार

    अपडेट
    गृहपृष्ठ ∕ राजनीति ∕ ‘जनयुद्ध आधुनिक नेपाल निर्माणपछिको सबैभन्दा ठूलो परिघटना’

    ‘जनयुद्ध आधुनिक नेपाल निर्माणपछिको सबैभन्दा ठूलो परिघटना’


    काडमाडौं/ २८ भदौ, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले एउटै मञ्चबाट सम्बोधन गर्दै नेपालमा चलेको दश वर्षे जनयुद्ध लाखौं जनता सहभागी भएर लडिएको आधुनिक नेपाल निर्माणपछिको सबैभन्दा ठूलो ऐतिहासिक परिघटना भएकाले यसको आवश्यकता र महत्वमाथि युगयुगसम्म चर्चा भइरहने बताउनुभएको छ ।
    आजबाट प्रसारण हुन लागेको जनयुद्धका घटनाक्रममा आधारित टेलिफिल्म ‘राधाकृष्ण’को प्रिमियर शो हेरेपछि विहिबार उहाँहरुले यस्ता धारणा राख्नुभएको हो ।
    अध्यक्ष प्रचण्डले नेपाल राज्यको एकीकरणपछि नेपाली जनता सामेल भएर यति ठूलो राजनीतिक क्रान्ति कहिल्यै नभएकाले यो ऐतिहासिक परिघटना भएको बताउनुभयो । ‘पृथ्वीनारायण शाहको नेपाल एकीकरणपछि लाखौं लाख जनता सहभागी भएर गरिएको कुनै राजनीतिक आन्दोलन छ भने त्यो माओवादी जनयुद्ध नै हो’– उहाँले भन्नुभयो– ‘लाखौं जनताले यसमा भाग मात्र लिएनन्, वर्षौदेखिको वर्गीय, जातीय, क्षेत्रीय, लैंगिक, भाषिक उत्पीडनको अन्त्य भएर समतामूलक समाज निर्माणको नयाँ आधार खडा भएको छ, यति ठूलो आन्दोलन ल्याटिन अमेरिकी मुलुक वा यूरोपतिर भएको हुन्थ्यो भने विश्वब्यापी परिवर्तनको घटनाको रुपमा दर्ज भइसक्ने थियो।’
    कतिपय शक्तिहरुले लाखौं जनताको सहभागितामा भएको जनयुद्धलाई विद्रुपीकरण गर्ने र यसको नेतृत्वकर्ता माओवादीको भूमिकालाई न्यूनीकरण गर्ने गरी बहस गर्ने गरेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले जनताको बलिदान र वीरतामा आधारित जनयुद्धको मर्म इतिहासमा स्थापित भइसकेको बताउनुभयो । ‘कतिपयले माओवादीलाई हामीले मूलधारमा ल्यायौं भनेको पनि सुन्छु’– उहाँले प्रश्न गर्नुभयो– ‘हामी मूलधारमा आयौं कि हामीले मूलधार सिर्जना गर्यौं ? हामी संवैधानिक राजतन्त्रको मूलधारमा गएका होइनौं। अन्य दलहरु हामीले स्थापित गरेको गणतान्त्रिक मूलधारमा आएकाले माओवादीलाई मूलधारमा ल्याएको भन्ने तर्क सही होइन ।’
    इतिहासको यथार्थ चित्रणमा सबैले जोड दिनुपर्ने उल्लेख गर्दै उहाँले टेलिफिल्म ‘राधाकृष्ण’ले तत्कालीन सत्ता र बिद्रोहीमध्ये कुनै एक पक्षमा नढल्केर इतिहासप्रति न्याय गर्ने र लाखौं जनताले परिवर्तनका लागि गरेको बलिदानीको गाथालाई नयाँ पुस्तासम्म जस्ताका तस्तै पुर्याउने विश्वास व्यक्त गर्नुभयो ।
    नेसपाका अध्यक्ष डा. भट्टराईले जनयुद्ध नेपाल राज्य बनेयताको सबैभन्दा ठूलो परिघटना भएको औल्याउँदै भन्नुभयो– ‘सुगौली सन्धिअघिको राज्य विस्तारको क्रममा टिस्टादेखि काँगडासम्म महिला बालबालिकालगायत सबै नेपालीले आन्दोलनमा भाग लिएका थिए, त्यसयता लाखौं जनता कुनै अभियानमा सहभागी भएका थिए भने त्यो जनयुद्ध नै हो । यो यस्तो परिघटना हो, जहाँ देशैभरि सबै तह तप्काका जनताले भाग लिए ।’
    जनयुद्धकै कारण आज संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको चर्चा गर्दै डा. भट्टराईले जनयुद्धका क्रममा भएका कतिपय घटनालाई लिएर मूल पक्षलाई ओझेलमा पार्ने प्रयास गर्नु इतिहासप्रतिको सही मूल्यांकन नहुने बताउनुभयो । ‘बच्चा जन्मदा सालनालसहित जन्मन्छ, पानीले पखालेर मात्रै सफा गरिन्छ तर बच्चासँगै जन्मेको फोहर मूल पक्ष होइन, मूल पक्ष भनेको बच्चाको जन्मले दिएको खुशीयाली हो’– उहाँले भन्नुभयो– ‘माओवादी जनयुद्ध पनि यस्तै हो, जनयुद्धका क्रममा कतिपय नहुनुपर्ने घटना नभएका होइनन् तर मूल पक्ष भनेको यो परिवर्तनका लागि भएको परिघटना थियो र यसले आम उत्पीडित जनतालाई दिएको मुक्ति र खुशी नै जनयुद्धको मूल पक्ष हो ।’
    कार्यक्रममा टेलिफिल्मका निर्देशक निर्माता मरिचमान श्रेष्ठ ‘बल्छीध्रुवे’ले टेलिश्रृङ्खला ‘राधाकृष्ण’ले जनयुद्धको यथार्थ पक्ष उजागर गर्ने बताउँदै हरेक शुक्रवार साँझ प्रसारण हुने जानकारी दिनुभयो । कार्यक्रममा हास्यकलाकार जितु नेपाललगायतले शुभकामना दिनुभएको थियो ।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    कालीकोटको गगने खोलामा पहिरो खस्दा कर्णाली राजमार्ग पूर्ण रूपमा बन्द

    कालीकोट — कर्णाली राजमार्गको सुर्खेत–जुम्ला सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ। कालीकोटको शुभकालिका गाउँपालिका–१ स्थित गगने खोलामा बुधबार बिहान लेदोसहितको

    बडादसैँको साइत सार्वजनिक: असोज २५ गते घटस्थापना, कार्तिक ३ गते…

    काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले २०८३ सालको बडादसैँका लागि घटस्थापनादेखि विजयादशमी (टीका) सम्मको आधिकारिक साइत र धार्मिक समय

    “साइबर सुरक्षा र प्रविधि बलियो बनाएर अनलाइन मतदानतर्फ अघि बढ्छौँ”…

    काठमाडौँ — निर्वाचन आयोगले नेपालमा अनलाइन मतदान प्रविधि तथा निर्वाचन व्यवस्थापनमा सूचना प्रविधिको प्रयोगबारे सम्भाव्यता अध्ययन र प्राविधिक प्रदर्शन कार्यक्रम

    दसैँ, तिहार र छठका लागि असोज २३ गतेदेखि सार्वजनिक यातायातको…

    काठमाडौँ — सरकारले आसन्न दसैँ, तिहार तथा छठ पर्वलाई लक्षित गरी आगामी असोज २३ गतेदेखि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ

    विद्युत् प्राधिकरणलाई ऊर्जामन्त्रीको निर्देशन: महसुल भुक्तानी पूर्ण रूपमा विद्युतीय बनाऊ

    काठमाडौँ — ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बिजुलीको महसुल भुक्तानीका लागि नागरिकहरू घण्टौँ लाइन बस्नुपर्ने बाध्यता तत्काल अन्त्य गर्न

    वर्षाले कोरला नाका प्रभावित, १५० बढी कन्टेनर रोकिए

    मुस्ताङ । चीनबाट पैठारी गरिएका मालसामान बोकेका १५० भन्दा बढी कन्टेनर कोरलानाकास्थित लोमान्थाङ गाउँपालिका–४ न्हेचुङ भन्सार क्षेत्रमा रोकिएका छन्। भारी

    Techie IT