उद्धार, उपचार र राहतमा सरकारको तत्परतामाथि प्रश्न गर्ने ठाउँ छैन : रवि लामिछाने
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले विपत्तिको समयमा सरकारले उद्धार, उपचार तथा राहतका लागि प्रभावकारी रूपमा राज्य संयन्त्र परिचालन गरेको बताएका छन् ।
बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै लामिछानेले विपत्तिको अवस्थालाई सत्ता र प्रतिपक्षको परम्परागत दृष्टिकोणबाट हेर्न नहुने धारणा राखे । विपत्ति सुरु भएदेखि नै सरकारले सम्पूर्ण राज्य संयन्त्र परिचालन गरी उद्धार, उपचार र राहतको काम अघि बढाएको उनको भनाइ थियो ।
उनले विपत्तिको सुरुकै घण्टामा हजारौँ सुरक्षाकर्मी प्रभावित क्षेत्रमा परिचालन गरिएको र हवाई उद्धारसमेत व्यवस्थित रूपमा सञ्चालन भएको दाबी गरे ।
‘यो विपत्तिमा सरकारको भूमिकालाई सत्ता र प्रतिपक्षको परम्परागत चस्माले हेर्नुपर्ने म देख्दिनँ,’ उनले भने, ‘विपत्तिका सुरुकै घण्टामा सरकारले आफ्नो सम्पूर्ण राज्य संयन्त्र परिचालन गरेर उद्धार, उपचार र राहतको काम सुरु गरेको थियो । हजारौँ सुरक्षाकर्मी तत्कालै प्रभावित क्षेत्रमा खटिए । तथ्यसहित भन्न सकिन्छ, हवाई उद्धार यति ठूलो र व्यवस्थित अभियान यसअघि विरलै भएको थियो ।’
लामिछानेले घाइतेहरूको उद्धार तथा उपचार, विस्थापित परिवारका लागि अस्थायी बसोबास र खाद्यान्न व्यवस्थापनमा सरकारले देखाएको तत्परतामाथि प्रश्न गर्ने ठाउँ नरहेको बताए ।
घर, सम्पत्ति तथा जीवनका आधारभूत साधन गुमाएका नागरिकलाई होल्डिङ सेन्टरमा राखेर राज्यले उनीहरूको तत्कालीन आवश्यकता र सुरक्षाको जिम्मेवारी लिएको उनले बताए ।
‘घाइतेहरूको उद्धार र उपचार, विस्थापित परिवारका लागि अस्थायी बसोबास तथा खाद्यान्नको व्यवस्थापनमा सरकारको तत्परतामाथि प्रश्न गर्ने ठाउँ म देख्दिनँ,’ उनले भने ।
कतिपय प्रभावित क्षेत्रमा सडक तथा यातायातको पहुँच नहुनुका साथै मौसमसमेत प्रतिकूल रहे पनि उद्धार तथा राहतकर्मी प्रभावित नागरिकसम्म पुगेको लामिछानेले बताए । कठिन परिस्थितिका बीच पनि उद्धार तथा राहतका काम अघि बढाइएको उनको भनाइ थियो ।
स्थानीय प्रशासन, स्थानीय तहका जनप्रतिनिधि तथा कर्मचारीहरूले समेत विपत्तिको सामना गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको उनले उल्लेख गरे ।
लामिछानेले विपत्तिको समयमा राज्यका सबै संयन्त्रबीच प्रभावकारी समन्वय गर्दै प्रभावित नागरिकलाई तत्काल उद्धार तथा राहत उपलब्ध गराउनु प्रमुख विषय भएको बताए । विपत्तिको मूल्याङ्कन राजनीतिक आग्रह–पूर्वाग्रहभन्दा माथि उठेर गर्नुपर्ने उनको धारणा थियो।
मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
धेरै पढिएका खबर
- १ नेपाली कांग्रेसको १५औँ महाधिवेशन : २२ वर्षका युवा महत महाधिवेशन प्रतिनिधिमा निर्वाचित
- २ मेलम्चीमा नेपाली कांग्रेसको १५औँ महाधिवेशन तयारीका लागि सम्पर्क कार्यालय उद्घाटन
- ३ प्रतिनिधिसभाको बैठक आज बस्दै, विभिन्न विधेयक कार्यसूचीमा
- ४ सामुदायिक योग समूह गाईजात्रा (इन्द्रजात्रा) विशेष कार्यक्रम मनाइयो
- ५ म्याग्दीमा पहिरोमा परी ६ जनाको मृत्यु, ३ जना बेपत्ता
- ६ रसुवा बाढीको बीमा दाबी २० अर्ब ९८ करोड, छिटो भुक्तानीका लागि संक्षिप्त कार्यविधि लागू
- ७ आज देशभर वर्षाको सम्भावना, लुम्बिनी र सुदूरपश्चिममा अति भारी वर्षाको चेतावनी

तपाईको प्रतिक्रिया दिनुहोस