आमसञ्चार लोकतान्त्रिक शासन प्रणालीको मेरुदण्ड : राष्ट्रपति
काठमाण्डौं/६ असोज, राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको राजनीतिक परिवर्तन, सामाजिक रुपान्तरण र आर्थिक विकासमा नेपाली पत्रकारिता जगतले निर्वाह गरेको भूमिका प्रशंसनीय रहेको बताउनुभएको छ । प्रेस काउन्सिल नेपालको ५५ औँ वार्षिकोत्सवका अवसरमा आइतवार राष्ट्रपति भवन शीतल निवासमा आयोजित कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो । राष्ट्रपति पौडेलले आमसञ्चार माध्यम लोकतान्त्रिक शासन प्रणालीको मेरुदण्ड भएको बताउनुभयो।उहाँले भन्नुभयो, ‘सङ्घीय लोकतान्त्रिक गणतन्त्रको प्रतिफल जनताको घर, आँंगनसम्म पुर्याउन शासन सञ्चालनमा बसेकालाई घच्घच्याएर लोकतन्त्रप्रति जनताको भरोसा अभिवृद्धि गर्ने काममा अझ जिम्मेवार भएर काम गर्नुहुनेछ भन्ने मैले विश्वास लिएको छु ।’ राष्ट्रपति पौडेलले स्वतन्त्र, निष्पक्ष र जिम्मेवार पत्रकारिताबिना लोकतन्त्र सुदृढ हुन नसक्ने भन्दै यही कारणले पत्रकारितालाई चौथो अङ्गका रुपमा सम्मान प्राप्त भएको स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, ‘जिम्मेवारीपूर्ण, सन्तुलित र तथ्ययुक्त सूचना सम्प्रेषणबाट मात्र राज्यको चौथो अङ्गको रुपमा पत्रकारिता जगतले पाएको सम्मानलाई जीवन्त राख्न सक्दछ भन्ने म ठान्दछु । यसमा नेपाली पत्रकार सचेत र सजग हुनुहुन्छ भन्ने मैले विश्वास लिएको छु । जिम्मेवार पत्रकारिता, सुसूचित नागरिक र जवाफदेही सरकार यी तीनवटै लोकतन्त्रका आधारस्तम्भ हुन् । उहाँले प्रेस स्वतन्त्रता र पत्रकारिताको मर्यादामाथि कतैबाट प्रश्न उठ्न नदिन काउन्सिल स्वयमले निष्पक्ष, स्वतन्त्र तथा सिर्जनात्मक भूमिका निर्वाह गर्नेमा आफू विश्वस्त रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘पत्रकारिताको विश्वसनीयता कायम राख्न र प्रेस स्वतन्त्रताको सदुपयोग गर्न काउन्सिलजस्ता निकाय स्थापना गरेर समयानुकल आचारसंहिता बनाउने तथा कार्यान्वयन भए नभएको अनुगमन गर्ने जिम्मेवारी प्रदान गरिएको हो । राष्ट्रपति पौडेलले सूचना प्रविधि र इन्टरनेटको विकाससँगै अनलाइन न्यूजपोर्टल र सामाजिक सञ्जालको विकासले तिव्र सूचना प्राप्तिको आम मानिसको चाहनालाई पूरा गर्न मद्दत गरेको बताउदै सत्यतथ्य, आधिकारिक र विश्वसनीय सूचना सम्प्रेषण नै आमसञ्चार माध्यमको व्यावसायिक र प्राथमिक दायित्व भएको स्मरण गराउनुभयो । उहाँले न्यूमिडिया र बढ्दो सामाजिक सञ्जालसँगै तिव्र सूचना सम्प्रेषण गर्ने प्रतिस्पर्धाले गलत सूचना प्रवाह हुनेतर्फ सचेत हुनुपर्ने आजको आवश्यकता भएको बताउदै यसतर्फ प्रेस काउन्सिलजस्ता अनुगमनको जिम्मेवारी पाएको अभिभावकीय संस्थाले प्रमुख र प्रभावकारी भूमिका खेल्नुपर्ने बताउनुभयो ।
राष्ट्रपति पौडेलले काउन्सिललाई अभिव्यक्ति स्वतन्त्रताको संरक्षण गर्ने लोकतन्त्रको मूल मान्यताप्रति गम्भीर बन्दै मिथ्या र गलत सूचना सम्प्रेषणबाट जनतालाई दिग्भ्रमित पार्न सक्ने अहिलेको चुनौतीको सजगतापूवर्क सामना गर्न शुभकामना दिनुभयो । काउन्सिल नेपालको ५५ औँ वार्षिकोत्सवका अवसरमा प्रेस काउन्सिल गोपालदास पत्रकारिता पुरस्कार पत्रकार अखण्ड भण्डारीलाई र प्रेस काउन्सिल सुरेन्द्रबहादुर बस्नेत पत्रकारिता पुरस्कार बद्री सिग्देललाई प्रदान गरिएको छ । साथै काउन्सिल नेपालको ५५ औँ वार्षिकोत्सव विभिन्न व्यक्तिलाई सम्मान गरिएको छ ।
सो अवसरमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले पनि विभिन्न व्यक्तित्वलाई सम्मानित गर्नुभयो । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले आफूले सञ्चार मन्त्रालयको नीतिहिनता र कानूनहिनताको अवस्था अन्त्य गर्न चाहेको बताउनु भएको छ । महेन्द्रकालीन ऐनको भरमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालय चलेकाले आफूले त्यस्तो अवस्था अन्त्य गर्नका लागि सामयिक नीति र कानून निर्माणको प्रक्रियालाई तिब्रता दिने कामलाई अघि बढाएको मन्त्री गुरुङको भनाइ छ । उहाँले सामाजिक सञ्जाललाई नियमन गर्ने विधेयकको मस्यौदा गरी मन्त्रीपरिषदका पेश गर्न लागिएको पनि बताउनु भयो । सामाजिक सञ्जाल अत्यन्तै अनियन्त्रित ढंगले अघि बढेकाले त्यसको नियमन हुनेगरी सरकारले सो विधेयकको मस्यौदा तयार पारी मन्त्रीपरिषद्मा पेश गर्न लागेको सञ्चारमन्त्री गुरुङले स्पष्ट पार्नुभयो। उहाँले मिडिया काउन्सिल विधेयक छलफलको क्रममा रहेको उल्लेख गर्दै त्यसलाई पनि संसदको आगामी हिउँदे अधिवेशनबाट पारित गराउने प्रतिवद्धता व्यक्त गर्नुभयो । कार्यक्रममा काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले जिम्मेवार भएर पत्रकारिता गर्न आम सञ्चार माध्यमलाई आग्रह गर्नुभएको थियो।
मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
धेरै पढिएका खबर
- १ The Eternal Lure of Gold: From Sacred Metal to Geopolitical Weapon
- २ विजुली बत्ती जान थालेपछि यसको समाधान गर्न शाक्यले निर्देशन दिए
- ३ धमाधम छापिँदैछ नमुना मतपत्र
- ४ प्रचण्ड रुकुमपश्चिमबाट चुनाव लड्ने
- ५ कांग्रेस विशेष महाधिवेशन आजबाट सुरू हुँदै
- ६ निर्वाचन आयोगमा फागुन २१ को निर्वाचन बारे दलहरुसँग छलफल
- ७ कांग्रेसका ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षर निर्वाचन आयोगमा पुग्यो

तपाईको प्रतिक्रिया दिनुहोस