आन्दोलनमा क्षति पुर्याइएको प्रहरी प्रभाग बुंगमती (भैसेपाटी)को भवन पुननिर्माण गरी हस्तान्तरण
ललितपुर, ११ कातिक, भदौ २४ गतेको जेड जेड आन्दोलनमा क्षति पुर्याइएको प्रहरी प्रभाग बुंगमती (भैसेपाटी)को भवन पुननिर्माण गरी हस्तान्तरण गरिएको छ।
स्थानीय र समुदायको सहकार्यमा भदौ २६ गते स्थानीय सुमन महतको संयोजकत्वमा गठन भएको पुन:निर्माण समितिले पुन:निर्माण सम्पन्न गरी आज मंगलबार यहाँ ओैपचारिक कार्यक्रम गरेर प्रहरीलाई भवनका संरचना हस्तान्तरण गरेको हो।
पुननिर्माण समिति संयोजक सुमन महतका अनुसार भदौ २६ गते गठन भएको ११ सदस्य रहेको पुनःनिर्माण समितिले दुई सय जना स्थानीय, व्यवसायी, संघसंस्था र समाजसेवीहरुबाट स्वस्फूर्तरुपमा उपलब्ध ४९ लाख ५४ हजार ६८ रुपैयाँको सहयोगबाट पुनःनिर्माण सम्पन्न गरिएको हो।
पुनःनिर्माण सम्पन्न भएको भवनको समुद्घाटन गर्नुहुँदै प्रहरी अतिरिक्त महानिरीक्षक दानबहादुर कार्कीले राम्रा र असल मानिसहरुको मौनताले खराव मानिसले प्रसय पाउँछ भन्दै शान्ति सुरक्षाका लागि राष्ट्रको प्रतिनिधिको रुपमा काम गर्न प्रभागको भवन पुनः निर्माण गरी सहयोग पुर्याउने स्थानीयको प्रयासको प्रशंसा गर्नुभयो।
“अप्ठ्यारो परिस्थितिमा काम गर्ने शक्ति नेपाल प्रहरी हो, आन्दोलनमा धेरै क्षति भएको थियोे र छ, देशमा धेरै रगत बगिसकेको छ, अब रगतभन्दा पनि मेहनतको पसिना बगाउनुपर्ने समय हो, यसतर्क हामी सबै मिलेर सहकार्यमा काम गर्नु आवश्यक छ।” उहाँले भन्नुभयो
उहाँले सार्वजनिक सम्पत्तिको क्षति साह्रै दु:खद हो भन्दै क्षति पुर्याउनेलाई कानूनी दायरामा ल्याउन कुनै कमी हुनुहुँदैन भन्नेमा जोड दिनुभयो।
“यो केवल भवन मात्रै हैन, राज्यको प्रत्याभूति दिने एउटा स्थान हो, शान्तिपूर्ण र सभ्य समाज निर्माणको एउटा महत्त्वपूर्ण थलो हो, यहाँबाट सबै प्रहरीले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नेछन्,प्रहरीको तालिम र क्षमता अभिबृद्धिमा राज्यले लगानी बढाउनुपर्छ, प्रहरीले नागरिकको सोच, चाहाना र इच्छा बमोजिम सेवा प्रवाहमा ध्यान दिनुपर्छ, यसका लागि क्रियाशील हुन निर्देश गर्दछु।” उहाँले भन्नुभयो।
उहाँले नागरिक र प्रहरी मिलेर सीमितको संख्यामा रहेका अपराधिक गतिविधि गर्नेहरुलाई कानूनी दायरामा ल्याएर शान्तिप्रिय असीमित व्यक्तिहरुको सुरक्षा गर्दै शान्तिपूर्ण समाजको निर्माण गर्न लाग्नुपर्नेमा जोड दिनुभयो।
प्रहरी बरिष्ठ उपरीक्षक होबिन्द्र बोगटीले दु:खद घटनाबाट बिस्थापित भएको प्रहरी प्रभावलाई पुन:स्थापित गर्न मन वचन र कर्मले सहयोग गर्ने सबैलाई आभार व्यक्त गर्दै शान्तिपूर्ण सभ्य समाज निर्माणका लागि अमुल्य पुन्य काम गरेेको बताउनुभयो। उहाँले प्रहरीका अधिकारीहरु र कर्मचारीहरु समयसमयमा परिवर्तन हुनेभए पनि यो संरचना स्थायी भएको भन्दै यो स्थानीयहरुकै सम्पत्ति भएको भन्दै संरक्षणका लागि आग्रह गर्दै आन्दोलनमा अपराधिक गतिविधिमा संग्लग्नहरुलाई खोजीखोजी कारवाही गरेर कानूनको कार्यान्वयन गर्ने जानकारी गराउनुभयो।
२४ गतेको आन्दोलनमा पुलचोक र हरिसिद्धिबाट केही थान हतियार समेत लुटिएको छ र सोही हतियारहरु अझैसम्म पनि बरामद हुन नसकेको अवस्था रहेको जिल्ला प्रहरी परिसर ललितपुरका सूचना अधिकारी एवम् प्रहरी उपरीक्षक चक्र जोशी जानकारी गराउनुभयो। आन्दोलनका क्रममा ललितपुर जिल्लाभित्रका २१ वटा प्रहरी कार्यालयहरुमा क्षति पुगेको थियोे
भदौ २४ गतेको आन्दोलनबाट प्रभागमा कार्यरत रहेका प्रहरीका लत्ताकपडाहरु लुटिएकोले नेपाल महिला संघकी केन्द्रीय सदस्य निरु खड्काले प्रहरीलाई ५४ सेट ट्रयाकसुट लगायतका सामग्री हस्तान्तरण गर्नुभएको प्रभागका प्रमुख प्रहरी निरीक्षक शशीधर शर्माले जानकारी दिनुभयो। ललितपुर महानगरपालिका वडा नं. १८ का अध्यक्ष दामोदर खड्का, वडा नं. २१ का अध्यक्ष रविन्द्र महर्जन, २२ का अध्यक्ष सागर तुलाधर, वडा नं. २५ का अध्यक्ष दौलतकुमार खत्री र प्रगति युवा क्लवकासाथै स्थानीय विशिष्ठ व्यक्तित्वहरुको सहयोग, समन्वय र सहकार्यले छिटोछरितो रुपमा पुनःनिर्माणको कार्यसम्पादन हुन सकेको प्रहरी निरीक्षक शर्माले जानकारी गराउनुभयो।
मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
धेरै पढिएका खबर
- १ खोलाको मापदण्ड पालना नगरी निजी जग्गामा सडक निर्माण गरिएको भन्दै अख्तियारमा उजुरी
- २ सामाजिक सद्भाव जोगाऔँ, विभाजनको राजनीति असफल बनाऔँ
- ३ नेपाल–मोरक्को सम्बन्ध थप मजबुत बनाउन सहकार्य विस्तारमा जोड
- ४ सुनसरी गोलीकाण्ड : उपचारका क्रममा अर्का युवकको मृत्यु, मृतक संख्या तीन पुग्यो
- ५ सिन्धुलीमा बसको ठक्करपछि कार सुनकोसी नदीमा खस्यो, तीन जना बेपत्ता
- ६ एलपी ग्यास आपूर्ति सहज बनाउन नेपाल आयल निगमद्वारा ‘क्विक रेस्पोन्स टिम’ गठन
- ७ आज बस्दै प्रतिनिधिसभा बैठक, भूमिहीन र सुकुम्बासीको मुद्दा प्रमुख एजेन्डामा

तपाईको प्रतिक्रिया दिनुहोस