आज आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती विभिन्न कार्यक्रम गरी मनाइँदै
काठमाडौं।नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २१२औँ जन्मजयन्ती आज देश तथा विदेशका विभिन्न स्थानमा विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ ।
संस्कृत भाषामा लेखिएको अयोध्याका राजा रामको जीवनीलाई भावानुवादसहितको ‘रामायण’ प्रस्तुत गरेर भानुभक्तले नेपाली जनतालाई ठूलो गुन लगाउनुभएको छ । उहाँले लेख्नुभएको रामायण अहिले पनि नेपालीहरूको घरघरमा सस्वर लय हालेर पाठ गरिन्छ ।
विसं १८७१ असार २९ गते तनहुँको चुँदीरम्घा गाउँमा जन्मिएका भानुभक्तलाई एक सामान्य घाँसीले ‘जन्मेपछि राम्रो काम गरेर नाम कमाउनुपर्छ’ भनी अर्ती उपदेश दिएकाले उनी रामायणलाई नेपालीमा रचना गर्न प्रेरित भएको भनिन्छ ।
नेपाली जातीय एकता, राष्ट्रिय पहिचान र नेपाली सांस्कृतिक चेतना जगाउन र राष्ट्रिय संस्कृतिलाई बलियो बनाउनमा भानुभक्तको ऐतिहासिक योगदान छ ।
‘वधुशिक्षा’ उहाँको अर्को प्रसिद्ध कृति हो । यसैगरी ‘प्रश्नोत्तर’, ‘भक्तमाला’, ‘रामगीता’, फूटकर रचनालगायत कृति छन् । कुमारी चोकको हिसाब मिलाउन नसकेर झ्यालखानामा परेका आदिकवि आचार्यले सरकारी कार्यालयमा हुने ढिलासुस्ती र ‘भोलिवाद’का कट्टर विरोधी भएर कवितामा भोलिको विरोध गर्दै लेख्नुभएको थियो– ‘भोलिभोलि भन्दैमा सब घर बितिगो बक्सियोस् आज झोली’ ।
नेपाली जातीय एकता, राष्ट्रिय पहिचान र नेपाली सांस्कृतिक चेतना जगाउन र राष्ट्रिय संस्कृतिलाई बलियो बनाउनमा भानुभक्तको ऐतिहासिक योगदान छ । भानुभक्त ऐतिहासिक व्यक्ति भएकाले सम्पूर्ण नेपालीले उहाँको सम्मान गर्नुपर्ने र उहाँका विचारका बारेमा उठेका विवादमाथि छलफल एवं समीक्षात्मक कार्यक्रम गर्नु आजको प्रमुख आवश्यकता भएको समालोचकहरूको धारणा छ ।
त्रिभुवन विश्वविद्यालयबाट भानुभक्तबारे स्नात्तकोत्तरमा थुप्रै शोधग्रन्थ लेखिएका छन् । यस उपलक्ष्यमा आज बिहान काठमाडौँको रानीपोखरी अगाडि रहेको राष्ट्रिय विभूति भानुभक्तको प्रतिमामा माल्यार्पण र नगर प्रभातफेरी गर्ने कार्यक्रम रहेको जनाइएको छ ।
घरघरमा आदिकवि आचार्यले नेपाली भाषामा भावानुवाद गर्नुभएको रामायण पाठ गरी भानु जयन्ती मनाउँछन् । यस अवसरमा भाषा, साहित्य र संस्कृतिका क्षेत्रमा काम गर्ने संस्थाले आज विभिन्न कार्यक्रम गरी भानु जयन्ती मनाउँदै छन् ।
आदिकवि आचार्यभन्दा अघि नै नेपाली भाषामा कविता लेख्ने कवि भएकाले उहाँलाई आदिकवि भन्न नमिल्ने तर्क पनि उठ्ने गरेका छन् । भानुभक्तका विषयमा अध्ययन, अनुसन्धान गरिरहनुभएका त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक ज्ञाननिष्ठ ज्ञवाली रामायणजस्तो ग्रन्थलाई नेपाली लोकलयमा भावानुवाद गरी भाषिक एकताको महत्त्वपूर्ण योगदान गर्नुभएकाले भानुभक्तलाई आदिकवि भनिनु न्यायोचित रहेको बताउनुहुन्छ । रामायण ग्रन्थले भाषिक क्षेत्रमा नयाँ युगनिर्माण गरेको मानिन्छ ।
आदिकवि आचार्यको निधन विसं १९२५ असोजमा भएको थियो । भानुभक्तको जन्मजयन्ती भारतको दार्जिलिङ, सिक्किम, भुटान, बर्मालगायत नेपाली भाषाभाषी धेरै रहेका देश एवं स्थानमा पनि मनाइन्छ ।
मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
धेरै पढिएका खबर
- १ नेपाली कांग्रेसको १५औँ महाधिवेशन : २२ वर्षका युवा महत महाधिवेशन प्रतिनिधिमा निर्वाचित
- २ मेलम्चीमा नेपाली कांग्रेसको १५औँ महाधिवेशन तयारीका लागि सम्पर्क कार्यालय उद्घाटन
- ३ प्रतिनिधिसभाको बैठक आज बस्दै, विभिन्न विधेयक कार्यसूचीमा
- ४ सामुदायिक योग समूह गाईजात्रा (इन्द्रजात्रा) विशेष कार्यक्रम मनाइयो
- ५ म्याग्दीमा पहिरोमा परी ६ जनाको मृत्यु, ३ जना बेपत्ता
- ६ आज देशभर वर्षाको सम्भावना, लुम्बिनी र सुदूरपश्चिममा अति भारी वर्षाको चेतावनी
- ७ रसुवा बाढीको बीमा दाबी २० अर्ब ९८ करोड, छिटो भुक्तानीका लागि संक्षिप्त कार्यविधि लागू

तपाईको प्रतिक्रिया दिनुहोस