अपाङ्गतामैत्री शहर बनाउन कुनै कुरा बाँकी राख्दैनाैं-चिरीबाबु महर्जन
ललितपुर/ १९ मङ्सिर: ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले अपाङ्गतामैत्री शहर बनाउन कुनै कुरा बाँकी राख्दैनाैं भन्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ।
अपाङ्गता भएका व्यक्तिहरुकाे ३३ ओैं अन्तर्राष्ट्रिय दिवसकाे अवसरमा ललितपुर महानगरपालिकाद्वारा मंगलबार जावलाखेलमा आयाेजित कार्यक्रममा मन्तव्य राख्नुहुँदै प्रमुख महर्जनले अपाङ्गतामैत्री पूर्वाधार निर्माण, सूचना प्रवाह र सेवा प्रवाहमा ध्यान दिएकाे बताउँदै अपाङ्गताका सवालमा देशका सबै स्थानीय तहहरुमध्ये उत्कृष्ट स्थानीय तहकाे रुपमा काम गरिरहेको जानकारी गराउनुभयाे ।
“हामीले यसकाे सुरुवात गरिरहेका छाैं, हामीले धेरै राम्रो कामहरु गरिरहेका छाैं, अरु स्थानीय तहले फलाे गरिरहेका छन्, एकान्तकुनामा लिप्टसहितकाे अपाङ्गतामैत्री पूल बन्दैछ, धाेविघाटबाट किर्तिपुर जाने पुल पनि अपाङ्गतामैत्री हुनेछ, हामीले निर्माण गरेका सबै संरचना अपाङ्गतामैत्री छन्, अपाङ्गतामैत्री फूटपाथ लगायतका संरचना निर्माण गर्ने पहिलाे स्थानीय तह हाैं।” प्रमुख महर्जनले भन्नुभयो ।
उहाँले अपाङ्गतामैत्री पूर्वाधारका साथै प्रविधिकाे विकासका लागि संघीय सरकार,प्रदेश सरकारका साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सघसंस्थासंग हातेमालो गरेर अगाडि बढ्ने बताउनुभयो ।
उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले अपाङ्गताकाे जीवन जीउनु रहर नभइ बाध्यता भएको भन्दै बाध्यताका कष्टकर जीवनयापन गरिरहेकाहरुलाई सहयाेग गर्नु र माया गर्नु कर्तव्य र दायित्व हाे भन्नुभयो ।
“हाम्रो सानाे सहयाेगले पनि उहाँहरुकाे दैनिक जीवनयापनमा सहजता ल्याउन सकिन्छ, हामी हरेक सेवालाई अपाङ्गमैत्री बनाउन निरन्तर प्रयासरत छाैं, उहाँहरुलाई माया र करुणाकाे भावका साथ आत्मनिर्भरता र सक्षम बनाउन निरन्तर प्रयत्न गरिरहनेछाैं।” उहाँले भन्नुभयो ।
उहाँले अपाङ्गता भएका व्यक्तिहरुलाई सहज जीवनयापनका लागि सहयाेग गर्दै मनस्थिति र आत्मबल बलियो बनाएर अगाडि बढ्नुपर्नेमा जाेड दिनुभयो ।
महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रेखा दास श्रेष्ठले नेतृत्वदायी भूमिकामा अपाङ्गता भएका व्यक्तिहरुकाे उपस्थिति नरहेकाे अवस्थामा उनीहरुकाे हक अधिकार सुनिश्चित गरिनुपर्छ भन्नेमा जाेड दिनुभयो । उहाँले अपाङ्गता भएकाहरुलाई आत्मनिर्भर बनाउनु राज्यको मुख्य दायित्व भएको भन्दै सेवा सुविधा र हीतकाे लागि महानगर प्रतिवद्ध रहेकाे जानकारी गराउनुभयाे।
जिल्ला प्रहरी कार्यालय ललितपुरका सूचना अधिकारी एवम् प्रहरी उपरीक्षक नवरत्न पाैडेलले समयसमयमा हुने यस्ता कार्यक्रमले अपाङ्गता भएका व्यक्तिहरुलाई थप हाैसला प्रदान गर्ने बताउँदै यस्ता मञ्चबाट उहाँहरुले समान अवसर पाउनका लागि आफ्ना कुराहरु व्यक्त गर्ने अवसर पाउने बताउनुभयो । उहाँले ललितपुर जिल्लामा गत तीन वर्षमा अपाङ्गता भएका व्यक्तिहरु हिंसात्मक कार्यमा सहभागी नभएको र अपाङ्गता भएका केही व्यक्तिहरु पीडित रहेको जानकारी गराउनुभयाे ।
विपद व्यवस्थापन समितिका सदस्य एव महानगरकाे कार्यपालिका सदस्य लक्ष्मी शर्माले संयुक्त राष्ट्र संघले सन् १९८१ देखि डिसेम्बर ३ लाई अन्तर्राष्ट्रिय अपाङ्गता भएका व्यक्तिहरुकाे हक अधिकार सुनिश्चितताका लागि दिवस मनाउन सुरु गरिएको जानकारी गराउँदै सन् १९९३ देखि नेपालमा हरेक बर्ष अन्तर्राष्ट्रिय अपाङ्गता दिवस मनाउन सुरु गरिएको उल्लेख गर्नुभयो । अपाङ्गता भएका व्यक्तिहरुकाे स्थानीय तह समन्वय समितिका सदस्य भाेजराज श्रेष्ठले स्थानीय तहले प्रदान गर्ने सेवामा आफूहरुकाे पहुँचका लागि ललितपुर महानगरले भाैतिक पूर्वाधार निर्माण र सेवा प्रवाहमा ध्यान दिएर आत्मसम्मान दिएको बताउनुभयो । उहाँले एकान्तकुनामा अपाङ्गतामैत्री लिफ्ट सहितको पुल निर्माण गरिरहेको कुरा सराहनीय रहेकाे बताउँदै अपाङ्गता परिचयपत्र वितरणमा सहजीकरण गरेर महानगरले राम्रो काम गरेको बताउनुभयो ।
ललितपुर महानगरकाे महिला बालबालिका शाखा प्रमुख शाेभा खरेलले अपाङ्गता भएका व्यक्तिहरुकाे सहजताका लागि वर्षभरि विभिन्न कार्यक्रमहरु आयाेजना गरिने बताउनुभयो।
मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
धेरै पढिएका खबर
- १ यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
- २ सिन्धु त्रिवेणीघाटको सम्भावना
- ३ नेपाल तथा भारतका २८ जना प्राज्ञलाई नइ प्रज्ञा पुरस्कार
- ४ उपत्यकामा चल्यो रात्रिकालीन साझा बस
- ५ ९ वटा बैंकको ब्याजदर घट्यो, १० वटाको स्थिर
- ६ कालीगण्डकीमा बेपत्ता युवा मृत फेला
- ७ प्रधानमन्त्री बालेनसँग बैंक ब्यालेन्स १ करोड ४६ लाख

तपाईको प्रतिक्रिया दिनुहोस